लहान समाचारदाता
लहान, असार २१ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन व्यवस्थित अस्पताल कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । लहान–१ मा बिएन्डबी डेन्टल प्लस मल्टिस्पेसियालिटी क्लिनिक प्रालि उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी समालेपछि प्रादेशिक अस्पतालले भोगिरहेका समस्या समाधान गर्न पहल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेश प्रदेशका आठ वटै जिल्लामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ५० करोड रुपियाँभन्दा बढीको बजेट यस आर्थिक वर्षमा विनियोजन गरेका छौँ । सिरहामा मुस्किलले एक करोड बजेट आउँथ्यो । आगामी आव २०८२/८३ को बजेटमा ७० करोड बजेट विनियोयन भएको छ ।”
मन्त्री सिंहले लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताललाई सिटी स्क्यान मेसिन र धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई अस्पताललाई प्रसूति सेवा प्रवाह गर्न सिटी स्क्यान मेसिन उपलब्ध गराउन बजेट विनियोजन गरिएको बताउनुभयो ।
मन्त्री सिंहले सरकारी तथा निजी क्लिनिकको स्तरीय व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनुगमनको पाटो व्यवस्थित बनाउन मन्त्रालयले कार्य गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा गोप्य टेन्डरको प्रक्रिया हटाएर खुला प्रव्रिmयाबाट टेन्डर गरिने पद्धति अगाडि बढाइएको बताउनुभयो । १३ किसिमका बिरामीको उपचारका लागि प्रदेशमा ४० करोड रुपियाँ विभिन्न मन्त्रालयबाट रकमान्तर गरेर पनि बिरामीलाई रकम उपलब्ध गराइएको जनाकारी उहाँले दिनुभयो ।
कार्यक्रममा पूर्वराज्यमन्त्री पदमनारायण चौधरी, प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी, लहान नगर उपप्रमुख रामचलितर महतो, पूर्वनगरप्रमुख मुनि साहलगायतले लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन गराउन प्रदेश सरकारले सकारात्मक भूमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभयो । उहाँहरूले अस्पतालको जग्गा रजिस्ट्रेसन गराउन लाग्ने राजस्व मिनाहाका लागि सङ्घीय सरकारसँग समेत पहल गरिदिन मन्त्री सिंहको ध्यानाकर्षण गराउनुभयो ।