• ११ मंसिर २०८१, मङ्गलबार

मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावितलाई मुआब्जा वितरण कार्य अन्तिम चरणमा

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित भएका आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी एक महिला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस २ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ । केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण भइ वितरण कार्य धमाधम भएको हो  ।

पाँच महिना अघि साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरे अनुसार वितरण कार्य भइरहेको केन्द्रले जनाएको छ । ८० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको र यो कार्य चाँडै नै पूरा गरिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार सो ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रकम प्रदान गरिनेछ । जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार तीन सय १५ वितरण गरिने प्रशासनले जनाएको छ ।

६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणलले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । माग पुरा भएपछि स्थानीय खुसी भएका छन् ।