• १६ वैशाख २०८१, आइतबार

नेसपाद्वारा छुट्टै दलको मान्यता माग

blog

काठमाडौँ, फागुन २३ गते । छुट्टै राजनीतिक दलको मान्यता माग गर्दै नेपाल समाजवादी पार्टी (नेसपा) ले सङ्घीय संसद्मा निवेदन दिएको छ । माघ २८ गते नै दलको पत्र संसद् सचिवालयमा प्राप्त भएको थियो । जनता समाजवादी पार्टीबाट विभाजन भई डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित नेसपा नेकपा (माओवादी केन्द्र) सँग एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिएको थियो । 

विसं २०७९ को निर्वाचन सम्पन्न भई प्रतिनिधि सभामा प्रतिनिधित्व गरेको एक वर्षपछि फरक दलको मान्यताको माग लिएर नेसपा संसद् सचिवालय पुगेको हो । माओवादी केन्द्रबाट अलग गरेर नेसपाको नाममा सदस्यहरूको नामावली अद्यावधिक गर्न माग गरिएको हो । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले नेसपाको निवेदन प्राप्त भई आवश्यक अध्ययन भइरहेको बताउनुभयो । पाण्डेयले भन्नुभयो, “निवेदन आएको छ । हामी अध्ययन गरिरहेका छौँ । चाँडै कानुन अनुसार निर्णय हुन्छ ।”

नेसपाले निर्वाचन आयोगको अद्यावधिक विवरणसहितको पत्र संसद्को जानकारीका लागि पेस गरेको छ । जसमा अध्यक्षमा महिन्द्रराय यादव, प्रतिनिधि सभामा सदस्य उमरावती देवी, गण्डकी र बागमती प्रदेश सभा सदस्य क्रमशः फणीन्द्र देवकोटा र गङ्गानारायण श्रेष्ठ रहेको जानकारी दलले गरेको पत्राचारमा उल्लेख छ । यादव सर्लाही–२ बाट निर्वाचित हुनुभएको हो । देवी समानुपातिक सदस्य हुनुहुन्छ । श्रेष्ठ प्रदेश सभामा सिन्धुली र देवकोटा गोरखाबाट निर्वाचित हुनुभएको थियो ।

विसं २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेसपाले एकल चिह्नमा निर्वाचनमा भाग लिएका थिए । माओवादी केन्द्रको चिह्नमा लडेका दुई दलको कानुन अनुसार एकै संसदीय दल रहन्छ । एकल चिह्न लिएका दलमध्ये बढी सिट ल्याउने दलको नेतृत्वमा संसदीय दल गठन हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ । सोही अनुसार माओवादीकै संसदीय दलमातहतमा सदस्य रहेका छन् । यसरी निर्वाचित सदस्यलाई संसदीय दलको ह्विप लाग्ने र कारबाही सम्बन्धित दलको केन्द्रीय समितिबाट हुने कानुनमा व्यवस्था छ । 

नेसपाले आफ्नो निवेदन सुनुवाइमा ढिलाइ भएपछि कानुन व्यवसायीलाई समेत लिएर सभामुखलाई भेट गरेको थियो । गत शुक्रबार डा. बाबुराम भट्टराई दुई वरिष्ठ अधिवक्तासहित सभामुख देवराज घिमिरेलाई भेट्न पुग्नुभएको थियो । वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र चन्द्रकान्त ज्ञवालीले दलको मान्यता दिन कानुन संशोधन आवश्यक रहेको राय सभामुखलाई दिएको स्रोतले बतायो । 

सङ्घीय संसद् सचिवालयमा निर्वाचन आयोगले पठाएको निर्वाचित सदस्यहरूको सूचीमा यादवको दल माओवादी केन्द्र नै उल्लेख छ । देवीको आबद्ध दल पनि माओवादी केन्द्र नै छ तर कैफियतमा सम्बन्धित दल नेसपा लेखिएको छ । 

प्रतिनिधि सभाका सदस्यहरूको सङ्क्षिप्त चिनारीमा पनि यादव र देवीलाई माओवादी केन्द्रकै सदस्यको सूचीमा राखिएको छ । संसद् सचिवालयले सदस्यहरूले भरेको फारामकै आधारमा उक्त विवरण प्रकाशन गरेको हो ।

माओवादीको चिह्नबाट चुनावमा भाग लिएका कारण माओवादी दलकै ह्विप लाग्ने अवस्था नेसपाका सदस्यलाई छ । औपचारिक रूपमा सङ्घीय संसद्ले पनि माओवादी केन्द्रकै सदस्यका रूपमा उनीहरूलाई कानुनी रूपमा चिन्ने गरेको छ । फरक दलको मान्यता माग भएपछि सचिवालय अध्ययनमा लागेको हो ।