रामकृष्ण बोहरा
बागलुङ, कात्तिक २१ गते। बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणको लागि सामाजिक एकता झल्किएको छ। आश्रमको भवन बनाउन शुक्रबारदेखि सुरु भएको महायज्ञको कलश यात्रामा ‘सामाजिक कार्य’का लागि विभिन्न समुदाय र क्षेत्रबिच एकता देखिएको हो।
मानवसेवा आश्रमले निर्माणाधीन भवन पूरा गर्ने र १० करोडको अक्षयकोष बनाउने लक्ष्यले आयोजित कार्यक्रम शुक्रबारदेखि भएको हो। यो महायज्ञलाई धार्मिक, सामाजिक र मानवीयताको एकतासँग पनि स्थानीयले जोडेर हेर्नुभएको छ। आश्रम निर्माण गरेर सडक मानवरहित देश बनाउने महाअभियानलाई पनि योगदान पुग्ने विश्वास सरोकारवालाको विश्वास छ।

महायज्ञको उद्घाटन गर्दे नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले मानवीय रुपमा आश्रमको महत्व एकातर्फ भएपनि आश्रमले आम नागरिकप्रति सहयोगी भावना विकास गर्ने बताउनुभएको छ। मुक्तिनाथ, दामोदरकुण्डदेखि कालीगण्डकी सभ्यताले मानव सेवा आश्रमलाई पनि जोडेको अध्यक्ष ढकालको भनाइ थियो।
कात्तिक २८ गतेसम्म संचालन हुने महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नुहुनेछ।