• २१ कात्तिक २०८२, शुक्रबार

निर्माणाधीन नागढुङ्गा-मलेखु सडक खण्डको अनुगमन

blog

अस्मिता पोखरेल 

धादिङबेंसी, कात्तिक २१ गते । जिल्ला प्रशासन कार्यालय धादिङले निर्माणाधीन नागढुङ्गा-मुग्लिङ सडक आयोजना अन्तर्गत पूर्वीखण्डको नागढुङ्गा-मलेखु सडक खण्डको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू, आयोजना प्रतिनिधि र निर्माण व्यवसायीहरूको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सडक निर्माणमा देखिएका प्राविधिक, सामाजिक र कानुनी जटिलताहरूको पहिचान गर्दै कामको गति तीव्र पार्न सम्बन्धित पक्षलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

“वर्षातपछि कतिपय ठाउँमा सडक जीर्ण अवस्थामा पुगेका छन्। खाल्डाखुल्डीका कारण सवारी आवागमनमा कठिनाइ भएको छ। अब सडकलाई सहजरूपमा चल्ने बनाउन तत्काल सुधारका काम अघि बढाइनेछ,” उहाँले भन्नुभयो ।

सुवेदीका अनुसार आयोजनाको काम अपेक्षित गतिमा अघि नबढेकाले कारण बुझ्न र सुधारका उपाय तय गर्न अनुगमन गरिएको हो । “हामीसँग प्राविधिक टोली, कन्सल्टेन्ट, निर्माण व्यवसायी र आयोजना प्रतिनिधिहरू सबै सहभागी थिएँ । अनुगमनपछि सबै सरोकारवालासँग संयुक्त छलफल गर्ने तयारी गरिएको छ,” उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी सुवेदीले सामाजिक, कानुनी र प्राविधिक पक्षमा देखिएका चुनौतीलाई समाधान गर्न आयोजना, निर्माण व्यवसायी, कन्सल्टेन्ट र स्थानीय पालिकाबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

“कतिपय ठाउँमा कानुनी र सामाजिक समस्या छन् भने कतिपय स्थानमा प्राविधिक सुधार आवश्यक छ । ती सबै पक्षमा सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको छ,” उहाँको भनाइ थियो ।

हाल तत्कालका लागि सडकमा रहेका खाल्डाखुल्डी पुर्ने र यातायात सहज बनाउन निर्देशन दिइएको छ। प्रशासनले निर्माण कार्यको तदारुकता सुनिश्चित गर्न निरन्तर अनुगमन गर्ने पनि जनाएको छ । पछिल्लो समय कतिपय स्थानमा स्थानीय र निर्माण व्यावसायिका बिच असमझदारी भएको र समस्या समाधानका लागि आयोजनाले प्रशासनसँग सहयोग मागेको छ ।

नागढुङ्गा पूर्वीखण्ड आयोजना अन्तर्गत दुई ओटा प्याकेज छन् । एउटा प्याकेज नागढुङ्गादेखि नौबिसे खण्डसम्म १२.२ किलोमिटर र नौबिसेदेखि मलेखुसम्म ४३.५ किमी छ । राजधानी प्रवेश गर्ने प्रमुख नाका मानिने यो  खण्डमा दैनिक १८ देखि २० हजार सवारीसाधन सञ्चालन हुने गरेका छन्।