• २२ असोज २०८२, बुधबार

रिट सुनुवाइबारे परामर्शमा सर्वोच्च

blog

काठमाडौँ, असोज २२ गते । सर्वोच्च अदालतले रिट निवेदनको नियमित सुनुवाइ प्रक्रिया प्रारम्भ गर्न परामर्श थालेको छ । इजलास र मिसिल व्यवस्थापन नभएसम्म नियमित सुनुवाइमा फर्कन नसकेको अवस्थामा रिट निवेदन सुनुवाइको परामर्श अदालतले गरेको हो । 

जेनजी आन्दोलनका क्रममा भवन तथा मिसिल जलेपछि अदालतमा करिब एक महिनादेखि नियमित सुनुवाइ हुन सकेको छैन । प्राङ्गणमा पाल हालेर इजलास स्थापना गरेर बन्दीप्रत्यक्षीकरणका निवेदनको सुनुवाइ मात्र अदालतले गरिरहेको छ । भदौ २९ गतेबाट प्राङ्गणमा इजलास खडा गरेर बन्दीका मुद्दा दर्ता र सुनुवाइ अदालतले सुरु गरेको थियो । 

सर्वोच्चका न्यायाधीशहरूको मङ्गलबारको पूर्ण बैठक (फुलकोर्ट) ले रिट सुनुवाइबारे सरोकारवालासँग परामर्श गर्ने निर्णय गरेको हो । मुद्दाको नियमित सुनुवाइ भने छठपछि मात्र गर्ने सर्वोच्चको तयारी छ । इजलास व्यवस्थापनका लागि समय लाग्ने भएकाले नियमित सुनुवाइ तत्काल सुरु नहुने अदालत स्रोतले बतायो । 

रिट दर्ता र सुनुवाइबारे फुलकोर्टले बिहीबार सरोकारवालासँग परामर्श गर्ने छ । महान्यायाधिवक्ता सविता भण्डारी तथा चार जना नायब महान्यायाधिवक्तालाई अदालतले छलफलका लागि बोलाएको छ । यस्तै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई पनि परामर्शमा बोलाउने फुलकोर्टले निर्णय गरेको छ । उपत्यकाका अन्य बार इकाइका अध्यक्ष र सचिवलाई पनि छलफलमा आमन्त्रण गरिने सर्वोच्च स्रोतले बतायो । 

रिट निवेदनको सुनुवाइ र त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अदालत निचोडमा नपुगेपछि सरोकारवालासँगको समेत परामर्शमा निर्णय गर्न लागिएको हो । जेनजी आन्दोलनका क्रममा सर्वोच्चका ८० प्रतिशत हाराहारीमा मिसिल जलेका छन् । मूल भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि इजलाससमेत छैनन् । अदालतले बन्दीप्रत्यक्षीकरणबाहेकका अन्य निवेदन दर्तासमेत गरेको छैन । आन्दोलनका क्रममा देशभरका २३ वटा अदालतमा क्षति पुगेको छ । क्षति पुगेका अदालतमा भौतिक पूर्वाधार व्यवस्थापनसँगै मिसिल प्राप्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको छ । 

व्यवस्थापन हुँदै इजलास

छठलगत्तै नियमित रूपमा मुद्दा सुनुवाइको तयारीमा रहेको अदालतलाई सो अवधिसम्म कम्तीमा दस वटा इजलास व्यवस्थापन हुने भएका छन् । अहिले सर्वोच्चको एनेक्स भवनमा रहेको दुई इजलास करिब तयार भइसकेका छन् । एनेक्स भवनमै थप दुई वटा इजलास तिहारसम्म तयार हुने छन् । यस्तै सर्वोच्चकै लागि बनिरहेको नविनिर्मित भवनमा समेत तिहारसम्म छ वटा इजलास बनाएर हस्तान्तरण गर्ने निर्माण कम्पनीले अदालत प्रशासनलाई प्रतिबद्धता जनाएको छ । नयाँ भवनको भुइँ तलामै कर्मचारीलाई कार्यकक्ष व्यवस्थापन भइसकेको छ । कर्मचारीले नयाँ भवनबाट काम सुरु गरेका छन् । 

नयाँ भवनमा छ वटा इजलास व्यवस्थापन भएमा एनेक्ससमेत गरी दस वटा इजलास हुने छन् । सर्वोच्चमा सामान्यतया दैनिक दस वटा इजलास चल्ने गरेका थिए ।