• २१ कात्तिक २०८२, शुक्रबार

मकवानपुरको ३० बिघा क्षेत्रमा गाँजा फँडानी

blog

गाँजाखेती नष्ट गरिँदै ।

शिवकुमार रिजाल (काशी)

मनहरी (मकवानपुर), कात्तिक २१ गते । पश्चिम मकवानपुरको दुर्गम गाउँबस्तीहरुमा गरिएको अबैध लागुऔषध गाँजा खेती नष्ट गरिएको छ । तीन दिनको अवधिमा परिचालित प्रहरी टोलीले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न क्षेत्रमा लगाइएको ३० बिघा १० कट्ठा जग्गाको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

गत कात्तिक १७ गतेदेखि २० गतेसम्म जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौँडाबाट खटिएका १०२ जना प्रहरीले गाँजा फँडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार राक्सिराङ गाउँपालिकाको चिसापानी, बेलटार, टेम्टा, गोरेटार र देबुटार गाउँमा गाँजा नष्ट गरिएको हो ।

त्यसैगरी कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी र जोइटी क्षेत्र तथा भीमफेदी गाउँपालिकाको भदौरे, ज्यार्बु लगायतका क्षेत्रमा गाँजा फँडानी गरिएको छ । गत वर्षहरुझैँ मकवानपुरको कैलाश र राक्सिराङसहितका गाउँबस्तीमा गाँजा खेती गरिएको छ । 

लागूऔषध नियन्त्रण ऐन २०३३ ले निषेध गरेको गाँजाखेतीको खुला उत्पादन, ओसारपसार र भण्डार हुने क्षेत्रको रुपमा पश्चिम मकवानपुरका गाउँबस्तीहरु तीन दशकदेखि चर्चित छ । 

हरेक वर्ष प्रहरीले गाँजा फँडानी अभियान सञ्चालन गरे पनि पर्याप्त जनशक्ति र समय नहुँदा गाँजा खेतीले निरन्तरता पाइरहेको छ । पश्चिम मकवानपुरको ग्रामीण भेगहरुमा गाँजासँगै अफिमको उत्पादन बढ्दो क्रममा रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।