• १५ वैशाख २०८१, शनिबार

नेपालमा हिपहपको आकर्षण बढ्दै

blog

काठमाडौँ, फागुन १९ गते । पाश्चात्य नृत्यको एक विधा हिपहपले नेपाली युवा पुस्तालाई आकर्षित गरिरहेको छ । केही दिनअघि काठमाडौँमा सम्पन्न हिपहप मेलामा युवा पुस्ताको सहभागिताले पनि यो नृत्य अब नेपालमा अझ मौलाउने सङ्केत गरेको छ । हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै काठमाडौँमा हिपहप मेलाको आयोजना गरिएको हो ।

सन् १९७० को दशकमा अमेरिकाको न्युयोर्क सिटीस्थित साउथ ब्रोन्सबाट ‘आर्ट मुभमेन्ट’ का रूपमा हिपहप सुरु भएको हो । जसमा धेरै प्रकारका नृत्य हुन्छन् । यद्यपि एक दशकअघिसम्म नेपालमा हिपहप भनेको ¥याप मात्र बुझिन्थ्यो तर बिस्तारै हिपहपका अन्य विधा डिजेइङ, ग्राफिटी आर्ट र ब्रेक डान्सिङ पनि नेपालमा भित्रिए । विभिन्न सङ्गीतका धुन मिसाएर बजाइने डिजेइङ नेपाली नाइट क्लबमा जमिरहेको छ । पछिल्लो समय ब्रेक डान्सिङ अन्तर्गतका बिबोइङ, बिगर्लिङ, लकिङ पपिङ डान्समा पनि युवा पुस्ता झुम्मिएका छन् ।

जसमध्ये १५ वर्षीय जेनिशा महर्जन पनि एक हुनुहुन्छ । आठ वर्षको उमेरदेखि हिपहप नृत्यमा रमाइरहेकी जेनिशा नेपाली गीतमा हिपहप नृत्य गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मलाई हिपहपमा ब्रेक डान्स, बिबोइङ, लकिङ पपिङ गर्न रमाइलो लाग्छ ।” हिपहप नृत्यले नै जेनिशालाई अमेरिका, जर्मनी, फिलिपिन्सलगायतका देशमा पु¥याइसकेको छ ।

नेपा डान्स एकेडेमीकी रिना महर्जनका अनुसार नृत्य सिक्न आउने नयाँ पुस्तामध्ये अधिकांश हिपहप सिक्न चाहन्छन् । उहाँ भन्नुहुन्छ, “अहिलेको पुस्तालाई बिबोइङ, लकिङ पपिङ डान्समा बढी लगाव छ ।” हिपहपको बढ्दो क्रेजसँगै विभिन्न सहरमा ब्याटल (प्रतिस्पर्धा) हुने गरेका छन् । पछिल्लो समय नेपाली हिपहपलाई अन्तर्राष्ट्रियकरण गर्न विभिन्न संस्था पनि खुल्न थालेका छन् । ‘हिपहप इन्टरनेसनल नेपाल’ ले विदेशी निर्णायक झिकाएर हिपहप डान्सका प्रतिभा छान्ने गरेको छ । ‘हिपहप इन्टरनेसनल नेपाल’ अन्तर्राष्ट्रियस्तरमा हिपहपको ब्याटल गर्दै आएको क्यालिफोर्नियाको ‘हिपहप इन्टरनेसनल’ बाट मान्यता प्राप्त संस्था हो । हिपहप डान्सका प्रशिक्षक महर्जनका अनुसार पहिले राम्रो प्लेटफर्म थिएन, घरपरिवारको सहयोग हुँदैनथ्यो तर अहिले विभिन्न रियालिटी सोले गर्दा हिपहप डान्सरलाई

परिवारको पनि साथ मिल्दै आएको छ । उहाँ भन्नुहुन्छ, “हिपहप पाश्चात्य नृत्यको एक विधा हो । यो ‘फ्री स्टाइल’ नृत्य हो, जसमा शारीरिक कसरत बढी हुन्छ । यसका लागि धेरै मेहनत चाहिन्छ ।” यो फ्री स्टाइल डान्स भएकाले हिपहप आफैँ पनि गर्न सकिने उहाँको भनाइ छ ।

“युट्युब र अनलाइन भिडियोमार्फत पनि हिपहप सिक्न सकिन्छ । धेरै मान्छे जिम जान्छन् । शरीर सुगठित बनाउन निकै मेहनत गर्छन् तर जिम आधा मान्छे र आधा मेसिनको सहकार्य हो । जिम छोडेको केही समयमै शरीर बिग्रिन थाल्छ । कसैको बोसो पलाउने त कसैको ‘एब्स’ बिग्रिने हुन सक्छ । हिपहप नृत्यले यस्तो बिगार गर्दैन । सङ्गीतको बहावमा शरीरलाई ढाल्नुपर्ने भएकाले यो ध्यान गरे जस्तै हो । अझ हिपहप नृत्य गर्दा तनाव कम हुने र सङ्गीतले शान्त र मग्न बनाउने फाइदा त छँदै छ,” महर्जन भन्नुहुन्छ ।

अहिले हिपहपसँग सम्बन्धित काठमाडौँका एभरेस्ट, एक्ट्रो ब्वाई, ब्याटल फ्युजन, इपिसी, भक्तपुरमा डिडिएक्स, पोखरामा सोलमेट, धरानमा दी पेज, बुटवलमा अफ्स्ट्रक्सनलगायतका समूह सञ्चालनमा छन् । व्यक्तिगत रूपमा बिबोई ओल्ड स्कुल, ह्यापी सु, निशान्त, टिच्यु (पोखरा), बिगर्ल निशा, जेनिशा, आस्मा विश्वकर्मा (कार्टुन्ज क्रु), शिखर सुब्बा सक्रिय हुनुहुन्छ ।