गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३ गते । थानकोट (थक्वाः) का ८६ वर्षीय साहित्यकार कवि शिवप्रसाद श्रेष्ठ (पःमाय्) को नेपाली भाषा र नेपाल भाषाका दुई कविता सङ्ग्रहको लोकार्पण भएको छ । नेपाली भाषामा आमाको स्वर र नेपाल भाषा (मातृभाषा) मा ह्याउँगु निभाःया जः नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको हो । आमाको स्वरका प्रकाशक उहाँकै छोरा रवीन्द्रप्रसाद श्रेष्ठ र ह्याउँगु निभाःया जः की प्रकाशक बुहार पद्मा खयरगोली हुनुहुन्छ ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा समालोचक डा. योगेन्द्र प्रधानले कवि शिवप्रसाद श्रेष्ठले राष्ट्रियता, मातृभाषा, देशप्रेम, नारीवेदना, धार्मिकता, ऐतिहासिक विषयवस्तु समसामयिक विषयवस्तुलाई चित्रण गरेको भन्दै दुई वटा कविता सङ्ग्रहको समालोचना गर्नुभयो । नेपाल भाषा केन्द्रीय विभागका सहप्राध्यापक डा. राजनलाल जोशीले नेपाल भाषामा प्रकाशित कविताले नेपाली र नेपाल भाषाको साहित्यप्रेमीका लागि महत्वपूर्ण योगदान पुग्ने छ, भन्नुभयो ।
यसै गरी भूमि, उद्योग, प्रशासन तथा वाणिज्य बागमती प्रदेशमन्त्री विन्दु श्रेष्ठले आराम गर्ने उमेरमा पनि अल्छी नमानी दुई कृति प्रकाशित गर्नुहुने कवि शिवप्रसाद श्रेष्ठ थानकोटको एक बहुप्रतिभाशाली अभिभावक हुनुहुन्छ भन्ने भनाइ राख्नुभयो । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले कवि शिवप्रसाद श्रेष्ठ सिङ्गो चन्द्रागिरिकै सम्मानित व्यक्तित्व हुनुहुन्छ भन्नुभयो । नेपाल भाषाका कविताका सर्जक राजेन्द्र महर्जनले नेपाल भाषाका कविताको सङ्ग्रहको प्राविधिक विषय र विषय छनोटका बारेमा चर्चा गर्नुभयो ।