गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३ गते । कवि ईश्वर थोकरको नवौं कृति ‘आमा’ सार्वजनिक भएको छ । कवि थोकरले साथीभाइबिच आफ्नो कृति सार्वजनिक गर्नुभएको हो । कवितासङ्ग्रह आमामा १४ कविता सङ्ग्रहित छन् । कविताकृति आमाकै शीर्षकमा १४ कविता प्रस्तुत गरिएको छ ।
कविले आफ्नो कवितासङ्ग्रहलाई शृङ्खला कवितासङ्ग्रह भन्नुभएको छ । आमाको निश्चल र निस्वार्थ मायाप्रति समर्पित उहाँका १४ कविता केहि छोटा पनि छन् । तर, त्यसले उत्पन्न गर्ने संवेदना, सञ्चार गर्ने सन्देश, भाव र भावना उच्च कोटीको छ ।
वि.सं. २०४४ सालमा तेमाल गाउँपालिका–९, मुक्पा, काभ्रेपलाञ्चोकमा जन्मनुभएका कवि थोकरले तामाङ र नेपाली भाषामा कविता तथा संस्मरण लेखन, अनुवाद कार्य गर्दै आउनुभएको छ । उहाँका पिङ्गाई (गजल सङ्ग्रह, २०६८), प्लिक्सी (कविता सङ्ग्रह) २०६९), नोरी (कविता सङ्ग्रह, २०७४), सिरिया (कविता सङ्ग्रह, २०७५), वाला सुइटर (संस्मरण सङ्ग्रह, २०७५), ल्हुइला गोडमा (संस्मरण सङ्ग्रह, २०७६), लीला (शृङ्खला कविता सङ्ग्रह, सन् २०२१), प्रेमको आदिम गीत (संयुक्त कविता सङ्ग्रह, सन् २०२५), याजी थोकरका बालकथाहरू (अनुवाद), द एसिया फाउन्डेसन (लेट्स रिड) र सिर्जनालयबाट प्रकाशित एक दर्जनभन्दा बढी बालकथाका पुस्तकहरू (अनुवाद), रहेको छ ।
त्यस्तै, राष्ट्रिय भाषाका गजलहरू (अनाममण्डली, काठमाडौँद्वारा प्रकाशित, २०६७, सम्पादन) र चन्द्रमा भाग २ (रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर २३, धापाखेलद्वारा प्रकाशित, २०८१, सम्पादन) प्रकाशित छन् । उहाँ तामाङ साहित्य पुरस्कार २०७१ द्वारा पुरस्कृत हुनुहुन्छ ।