लक्की चौधरी/सपना थामी
काठमाडौं, कात्तिक २ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा भएका र नभएका आफूसहित आशंका लाग्ने सबैको सम्पत्ति छानविन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा आइतबार अध्यक्ष ओलीले त्यस्तो कुरा बताउँदै भ्रष्टाचारमा शुन्य सहनशीलतामा आफ्नो शतप्रतिशत समर्थन रहेको र सोही एजेण्डा बोकेर आफू राजनीतिमा लागेको बताउनुभयो । नवयुवाहरुले उठाएको प्रमुख मागमा भ्रष्टाचारमुक्त नेपाल बनाउने भएको र आफूले पनि त्यही कसम खाएर राजनीतिमा लागेको उहाँको भनाइ छ ।
“जेनजी आन्दोलन हाइज्याक भयो, शान्तिपूर्ण आन्दोलनलाई अराजक बनाइयो । यसमा गम्भीर षडयन्त्र भएको छ भन्ने कुरा छर्लङ्ग भइसकेको छ, सरकारले छानविन गरी तत्काल दोसीलाई कारवाही गरोस्” आग्रह गर्दै अध्यक्ष ओलीले थप्नुभयो, “सिंहदरवार, सर्वोच्च अदालत, नेताका घर तथा व्यापारीको घरमा आगो लगाउने जेनजी थिएनन्, अराजक तत्व थिए । त्यसको तत्काल छानविन होस् ।”
सिफारिसको गलत अर्थ
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री पदबाट भदौ २४ गते राजिनामा दिएपछि नयाँ अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँकै आग्रहमा सिफारिस गरेको बताउँदै भन्नुभयो, “संविधानको रक्षा र संसदको संरक्षण गर्ने दुई शर्तसहित नयाँ सरकार गठनको सिफारिस गरेको थिएँ । त्यो सिफारिसपत्र राष्ट्रपतिसमक्ष सुरक्षित छ, मेरो हस्ताक्षर जोडेर नक्कली सिफारिसपत्र बनाएर बदनाम गर्ने काम भइरहेको छ ।”
आवश्यक पर्दा राष्ट्रपति कार्यालयबाट सो सक्कली सिफारिसपत्र निकाल्न सकिने भन्दै उहाँले पत्रकारलाई सत्य बुझेरमात्र समाचार लेख्न आग्रह गर्नुभयो । देशमा अराजकता मच्चाउने गिरोह सक्रिय रहेकाले देश र जनताको पक्षमा सत्य समाचारलाई प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।
पहिले असंवैधानिक अहिले संवैधानिक ?
आफू सरकारको नेतृत्वमा रहँदा संविधानअनुसार गरेको संसद विघटनको सिफारिस असंवैधानिक हुने तर अहिले संसद बाहिरबाट गठित अन्तरिम सरकारको सिफारिसमा गरेको संसद विघटन कसरी संवैधानिक ? उहाँले जिज्ञासा गर्नुभयो । “सम्पादकहरुले यो विषय नबुझ्नु भएको होइन, तर किन लेख्न सक्नु भएको छैन ?” उहाँले जिज्ञासा गर्नुभयो ।
आफूले सत्य कुरा बोल्दा अहम्ता देख्ने सम्पादकहरुलाई उहाँले सत्य कुरा लेखेर जनतालाई सुसुचित गर्न आग्रह गर्नुभयो । आफू प्रधानमन्त्री रहँदा संविधानको धारा र उपधारालाई टेकेर संसद विघटनको सिफारिस गर्दा सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको स्मरण गर्दै उहाँले अहिले असंवैधानिक रुपमा गरिएको विघटनमा पनि अदालतले भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सत्य बोल्ने बानी छ
आफू सत्य बोल्दा धेरैले अहम्ता देख्नेगरेको बताउँदै उहाँले भन्नुभयो, “हरेक व्यक्तिले सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्छ । यो संवैधानिक अधिकार हो । मुलुकमा समृद्धि कायम गर्नुपर्छ । समानता कायम गर्नुपर्छ । विश्वसनीयता कायम गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्छु । यसलाई अहम्ता देख्ने हो भने म के गर्नु ?”
“कोहीलाई म मन पर्छु, कोहीलाई पर्दैन होला । सबैलाई मन पर्नुपर्छ भन्ने पनि होइन होला । तर म जति काम गर्छु देश, जनता र राष्ट्रिय स्वाभिमानका लागि गर्छु” अध्यक्ष ओलीले भन्नुभयो, “देशमा अहिले राजनीतिक नेताहरुप्रति घृणाको वातावरण बनाइएको छ, राम्रो गर्दा पनि समस्या, सत्य कुरा बोल्दा पनि समस्या देखाइएको छ । पत्रकार त जानकार वर्ग हो, सत्यलाई सत्य र असत्यलाई असत्य भनिदिनुपर्छ ।”
छानविन निश्पक्ष हुनुपर्छ
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको घटनामा संलग्नहरुको पहिचान गर्न जाँचबुझ आयोग गठन गरिएको भए पनि आयोगको ध्यान केपी ओलीलाई थुन्नेतिर केन्द्रित रहेको उहाँले टिप्पणी गर्नुभयो । आन्दोलनको क्रममा देश जल्यो, व्यक्तिगत र सार्वजनिक सम्पत्ति खरानी बनाउने काम भयो, त्यसको छानविन गर्नु कहाँ छ कहाँ ? ओली र रमेश लेखकलाई कसरी थुन्नेमा सरकारको ध्यान रहेको उहाँले गुनासो गर्नुभयो ।
जाँचबुझ आयोगले निश्पक्ष छानविन गर्नुपर्ने, आफू त्यसमा दोसी करार भएमा जस्तोसुकै सजाय भोग्न तयार हुने उहाँले बताउनुभयो । तर आफूले कुनै गल्ती नगरेको, कसैलाई गोली चलाउन आदेश नदिएकाले आयोगले बयानका लागि बोलाउँदा आफू नजाने उहाँले अडान सुनाउनुभयो ।
पार्टी र सरकार फरक विषय
अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै समयमै राजिनामा दिएको बताउनुभयो । तर पार्टीको अध्यक्षबाट राजिनामा दिने नदिने विषय फरक भएको उहाँको भनाइ छ । पार्टीभित्र आफू अस्वीकृत भएमा नेतृत्व छाड्ने उहाँले प्रष्ट पार्नुभयो ।
सुरक्षा निकायका प्रमुखहरुबाट ब्रिफिङ हुँदा भनिएको थियो, “आठ–दश हजार विद्यार्थी युवाहरु शान्तिपूर्ण आन्दोलन गर्नुहुन्छ, फर्किनु हुन्छ । कुनै सुरक्षा चुनौती हुँदैन । आन्दोलनमा यस्तो घुसपैठ हुन्छ भनेर न जेनजी अगुवाहरुले आँकलन गरेका थिए, न सरकारले गरेको थियो । तर हामीले नसोचेको घटना हुन पुग्यो । त्यसको नैतिक जिम्मेवारी लिएर मैले प्रधानमन्त्री पदबाट राजिनामा दिएँ । पार्टीको विषय फरक हो ।”
पार्टीका नेता, कार्यकर्ताले प्रक्रियाअनुसार आफूलाई अस्वीकार गरेमा आफू अध्यक्ष पदबाट हट्ने उहाँले बताउनुभयो । सम्पादकहरुले पार्टी अध्यक्षबाट हट भन्दा हट्ने, बसभन्दा बस्ने विषय होइन, सरकार र पार्टी फरक विषय हो । मैले भोटर्सको कुरा सुन्ने कि सम्पादकको भन्दा मैले भोटर्सको कुरा सुन्ने हो” उहाँले भन्नुभयो ।
मेरो स्वतन्त्रता खै ?
पूर्व प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई संविधानले प्रदान गरेकाले कसैले रोकतोक गर्न नसक्ने बताउनुभयो । “म विरामी मान्छे हुँ, उपचार गराउन अस्पताल जान नपाउने ? घरहरु जलेको छ । पार्टी नेता, कार्यकर्तासहित आफ्नै बुवा बस्ने र आफन्तहरु बस्ने घर जलेको छ । उहाँहरुलाई भेटेर सान्त्वना पनि दिन नपाउने मैले ? सरकारले गर्न खोजेको के हो ?” उहाँले जिज्ञासा गर्नुभयो ।
आफूलाई आवश्यकता भएका बेला जहाँ पनि घुम्न छुट रहेको बताउँदै उहाँले कानुनतः सरकारले आफूलाई रोकतोक गर्न नसक्ने उहाँको भनाइ छ । “राष्ट्रपतिज्यूले आगामी फागुन २१ गतेका लागि निर्वाचन तोक्नुभएको छ, राजनीतिक दलले निर्वाचनमा भाग लिन देशभरि गतिविधि गर्नुपर्ने हुन्छ । यस्तो बेलामा दलका नेताहरुलाई घरमै थुन्न पाइन्छ ?” सरकारले निर्वाचन चाहेको हो ? उहाँले जिज्ञासा गर्नुभयो ।
आफूलाई सुरक्षा थ्रेट भएका बेला सरकारले सबै सुरक्षाकर्मी फिर्ता बोलाएर नाटक मञ्चन गरेको उहाँले आरोप लगाउनुभयो । कारागारका कैदीबन्दीहरुलाई बाहिर भगाएर, प्रहरीका हातहतियार खोसेर छाडा गरिएका आपराधिक समूहलाई नियन्त्रणमा लिन नसक्दा मुलुकमा सरकारले नै अराजकता मच्चाउने काम गर्न खोजेको उहाँले टिप्पणी गर्नुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको संवाद कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारी नेपालका पूर्व अध्यक्षहरु, नेपाल पत्रकार महासंघका अध्यक्षसहित पूर्व अध्यक्षहरु, सम्पादक तथा पत्रकारहरुको सहभागिता थियो ।