• ३ कात्तिक २०८२, सोमबार

‘तीन करोड नेपालीका आँखा रसाए’

प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ/मनोजरत्न शाही

गोरखापत्र अनलाइन 

काठमाडौँ, कात्तिक ३ गते। इजरायलमा निधन भएका नेपाली नागरिक स्वर्गीय विपिन जोशीप्रति प्रधानमन्त्री सुशीला कार्कीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

जोशीको पार्थिव शरीर आज अपरान्ह इजरायलबाट काठमाडौँ ल्याइएपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।

जोशीप्रति श्रद्धाञ्जलि  दिन आयोजित सभामा  प्रधानमन्त्री  कार्कीले दिनु भएको  मन्तव्यको सार संक्षेप  :

‘‘आज शोकको घडी छ। विगत दुई वर्षदेखि विपिन जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका छन्।

विपिन जीवितै छन् भन्ने विश्वास थियो। उनलाई सकुशल पाउँछौँ भन्ने हाम्रो कामना र प्रतीक्षा थियो। 

उनी इजरायलमा पढ्न गएका थिए। फर्केर आउनेछन् भन्ने नै हामीलाई लागेको थियो। र, यही विमानस्थलबाट भव्य स्वागत गरेर लिएर जाऔँला भन्ने इच्छा थियो। उनले चाहेको भए आफू बाँच्न सक्थे। तर, साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे। 

अपहरणको शिकार हुँदा उनले कति दुःखकष्ट भोगे होलान् ! कसरी मारिए होलान् ! परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ।

विपिन हामी सबैका छोरा हुन्। तीन शब्दको विपिन नाम छ र उनको बहादुरी, साहस जुन छ, हामी कहिल्यै बिर्सने छैनौँ। उनको हिम्मत र साहसप्रति गौरव छ।

विपिन भौतिक रूपमा हामीसँग छैनन् तर हाम्रो मनमा रहिरनेछन्। उनी हामीसँगै हुनेछन्।

उनले आफ्नो देशको नाम त राखे राखे, इजरेली जनता र सरकारबाट पनि सम्मान पाए। त्यसैले उनलाई बहादुर युवा भन्नुपर्छ। यस्तो बहादुर छोरा जन्माउने आमा, उनको खोजीमा अथक संघर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ।

विपिन कहिल्यै अस्ताउने छैनन्। हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहनेछन्।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तिको कामना गर्दछु। परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’’


शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससहित उच्च अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।  उहाँहरूले पनि स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । 

जोशीको शव आजै विमानमार्फत धनगढी र त्यहाँबाट कञ्चनपुरस्थित घरसम्म पुराउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मृतक जोशीको शव इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा नेपाल ल्याइएको हो।


सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी भागमा गरेको आक्रमणपछि विपिन जोशीसहित केही नेपाली विद्यार्थीहरू बन्धक बनाइएका थिए। इजरायली सरकारले २०२५ अक्टोबर १४ मा जोशीको निधनको औपचारिक जानकारी दिएको थियो। सो आक्रमणमा परी तत्कालै १० जना निर्दोष नेपाली विद्यार्थीहरूको पनि दुःखद निधन भएको थियो।

बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।