पेरिस, कात्तिक ३ गते । फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठ वटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरको खोजी तीव्र बनाएको छ ।
अधिकारीका अनुसार करिब ६० जना अनुसन्धान कर्ताको टोली उक्त घटनामा संलग्न आपराधिक गिरोहको सुराकीका लागि खटिएको छ । प्रारम्भिक अनुसन्धानले यो चोरी एक सङ्गठित अपराध समूहद्वारा योजना बद्धरूपमा गरिएको सङ्केत गरेको छ ।
फ्रान्सका न्यायमन्त्री जेराल्ड डार्मानिनले सोमबार लुभ्र सङ्ग्रहालयको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै भन्नुभयो, “हामी असफल भयौँ भन्ने निश्चित छ । किनभने कसैले पेरिसको बीचमा नै केही मिनेटभित्र अमूल्य गहना लुट्न सके र यसले फ्रान्सको छविलाई गम्भीर असर पुर्याएको छ ।”
यसैबिच, गृहमन्त्री लरेन्ट नुनेजले पनि हालै फ्रान्सका अन्य सङ्ग्रहालयमा भएका डकैतीलाई स्मरण गर्दै स्वीकार गर्नुभयो, “सङ्ग्रहालयमा सुरक्षाको अवस्था हाम्रो प्रमुख कमजोरी बनेको छ ।” अनुसन्धानका अनुसार, चोरको टोली आइतबार बिहान ९:३० देखि ९:४० बजेसम्म ९०७३०-०७४० जिएमटी० सङ्ग्रहालयमा प्रवेश गरेको थियो ।
उक्त सङ्ग्रहालय जनसाधारणका लागि बिहान ९ बजे मात्र खुलेको थियो । उनीहरूले शाही सङ्ग्रह प्रदर्शनमा राखिएको ‘अपोलो ग्यालरी’मा प्रवेश गर्नका लागि मुभरले प्रयोग गर्ने जस्तै विस्तार योग्य सिँढी भएको ट्रक प्रयोग गरेका थिए । त्यसपछि उनीहरूले झ्याल काटेर भित्र पस्न र डिस्प्ले केस फोड्न उपकरणको प्रयोग गरेका थिए ।
सङ्ग्रहालयमा रहेका एक आगन्तुकले मोबाइल फोनमा खिचेको छोटो भिडियो क्लिप फ्रान्सेली समाचार माध्यमहरूले प्रसारण गरेका छन् । मास्क लगाएका चोरले १९औँ शताब्दीका नौ वटा गहना चोरी गरेका थिए । तिनमा महारानी युजेनीको मुकुटसमेत रहेको थियो । भाग्ने क्रममा उनीहरूले मुकुट खसाल्दा क्षति पुगेको बताइएको छ ।
लुभ्रको वेबसाइटका अनुसार उक्त मुकुटमा एक हजार ३५४ वटा हीरा र ५६ वटा पन्ना जडित छन् । संस्कृति मन्त्रालयका अनुसार चोरीमा आठ वटा ‘अमूल्य’ गहना हराएका छन्, जसमा नेपोलियनले आफ्नी पत्नी महारानी मेरी-लुइसलाई दिएको पन्ना र हीराको हार पनि समावेश छ । चोरी भएका अन्य वस्तुमा महारानी युजेनीको अर्को मुकुट र फ्रान्सकी अन्तिम रानी मेरी-एमेलीको हार पनि रहेको छ, जसमा आठ नीलम र ६३१ हीरा छन् । रासस/एएफपी