• ३ कात्तिक २०८२, सोमबार

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु

blog

बेइजिङ, कात्तिक ३ गते । जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्न सोमबारदेखि चार दिने उच्चस्तरीय बैठक सुरु गरेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीन अहिले सुस्त घरेलु खर्च, अचल सम्पत्ति क्षेत्रको दीर्घ सङ्कट तथा संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापारिक तनावका बिचमा रहेको छ । यस्तो अनिश्चित परिस्थितिमा सुरू भएको यो बैठकलाई अर्थविश्लेषक र राजनीतिक पर्यवेक्षकले निकै महत्वपूर्णरूपमा हेरिरहेका छन् ।

केन्द्रीय समितिको यो अधिवेशनमा करिब २०० सदस्य र १७० वैकल्पिक सदस्य सहभागी रहेका छन् । पार्टीको प्रमुख नीतिगत उद्देश्य र आगामी आर्थिक रणनीतिको सङ्केतका लागि यो बैठक निर्णायक हुने अपेक्षा गरिएको छ । राष्ट्रपति सी जिनपिङले बैठकको पहिलो दिन कार्य प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक र सामाजिक विकासका लागि आगामी १५औँ पञ्चवर्षीय योजनासम्बन्धी प्रस्तावमा टिप्पणी गर्नु भएको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

केन्द्रीय समितिले ‘प्लेनम’ भनेर चिनिने यस्तो बैठक बोलाएको सन् २०२२ मा आफ्नो वर्तमान कार्यकाल सुरु गरेपछि यो चौथो पटक हो । आगामी पञ्चवर्षीय योजनाले सन् २०२६ देखि २०३० सम्मको अवधिलाई समेट्ने छ, जसले राष्ट्रपतिद्वारा प्रवद्र्धित प्रविधिक आत्मनिर्भरता, आर्थिक सुदृढीकरण र सैन्य क्षमताको विस्तारजस्ता मुख्य लक्ष्यलाई दिशा दिने छ ।

बैठक यही बिहीबार समापन हुने तय गरिएको छ । त्यसपछि पार्टीले मुख्य निर्णय र निष्कर्ष समेटिएको विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने छ । उक्त दस्तावेजले आगामी मार्च महिनामा चीनको व्यवस्थापिकाबाट औपचारिक स्वीकृति पाउने अपेक्षा गरिएको छ । यस योजनामा राजनीतिक, आर्थिक, सामाजिक तथा वातावरणीय लक्ष्य समेटिने छ, जसले चीनको दीर्घकालीन विकास नीतिको रूपरेखा तय गर्ने छ ।

यता, चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा देशको अर्थतन्त्र वार्षिक आधारमा ४.८ प्रतिशतले वृद्धि भएको छ । तर यो वृद्धि दर गत वर्षको सोही अवधिको तुलनामा सबैभन्दा सुस्त मानिएको छ । यसले अर्थतन्त्रमा रहेको दबाब अझ प्रष्ट पारेको विश्लेषकले टिप्पणी गरेका छन् । रासस/एएफपी