शंकर केसी
सल्यान, कात्तिक ३ गते । प्रहरी चौकीको भवन निर्माणका लागि सल्यानमा एक व्यक्तिले दुई रोपनी जग्गा दान गर्नुभएको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर २ नेटामा अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानिय पैले बुढाले जग्गा दान गर्नुभएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय सल्यानमा बसेको बैठकले गरेको निर्णय अनुसार बुढाले दान गर्नुभएको जग्गा जिल्ला मालपोत कार्यालयमा पास गरिएको हो ।
बैठकमा जग्गादाताका तर्फबाट बुढाले आफ्नो जग्गा अस्थायी प्रहरी चौकी स्थापनाका लागि दिने इच्छा व्यक्त गरे अनुसार निर्णय भएको हो । स्थानीय बजार व्यवस्थापन समितिको दुई महिने सूचना अनुसार उहाँले जग्गा दानका लागि इलाका प्रहरी कार्यालयमा आवेदन दिनुभएको थियो । सोही अनुसार उहाँको पाँच रोपनी ९ आना जग्गाबाट दुई रोपनी जग्गा अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि दानस्वरूप उपलब्ध गराउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको संयोजकत्वमा बसेको बैठकमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नापी तथा मालपोत कार्यालय, कुमाख गाउँपालिका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । बैठकले चौकी निर्माणको थप प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई जिम्मेवारी समेत दिएको छ ।