अविनाश चौधरी
धनगढी, कात्तिक ३ गते । कञ्चनपुरका विपिन जोशीको शव उहाँको घरमा पुगेको छ । सोमबार इजरायलबाट काठमाडौं पुगेको शव सोही दिन नै उहाँको घर लगिएको हो ।
नेपाली सेनाको स्काइ ट्रकमा काठमाडौंबाभट धनगढी ल्याइएको शव धनगढी विमानस्थलबाट धनगढी उपमहानगरपालिकाको शव बाहनमा राखेर भीमदत्त नगरपालिका–३ जोशीको घरमा लगिएको छ । नेपाल प्रहरीको स्कर्टिङमा शव लगिएको थियो । शव घरमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सबैतिर तिहारको रमझम चलेको बेला छोराको शव पुगेपछि जोशी परिवार शोकमा डुबेको छ । टीकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत ११ महिनासम्म इन्टर्नका लागि विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए ।
२०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो । बन्धक बनाइएको विपिनको दुई वर्ष अगाडि नै हत्या गरिएको इजरायलले पुष्टि गरेको छ ।