लुटिएका हतियारको दुरुपयोग हुन सक्ने तथा त्यसले मुलुकको समग्र शान्ति सुरक्षामै असर पर्ने भएकाले नियन्त्रणका लागि विशेष कार्यक्रमसहित संयुक्त सुरक्षा गस्ती र निगरानी बढाउन लागिएको हो ।
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने बताउनुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले गत भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रणका लागि संयुक्त अपरेसनको तयारी भइरहेको बताउनुभयो ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएकामध्ये झन्डै चार सय हतियार फिर्ता नभएको र ती हतियारको दुरुपयोग हुन सक्ने र त्यसले मुलुकको समग्र शान्ति सुरक्षामै असर पर्ने भएकाले नियन्त्रणका लागि विशेष कार्यक्रमसहित संयुक्त सुरक्षा गस्ती र निगरानी बढाउन लागिएको बताउनुभयो ।
आगामी सुरक्षा चुनौती र तयारीबारे सञ्चारकर्मीहरूको जिज्ञासामा मन्त्री अर्यालले भन्नुभयो, “लुटिएका हतियार कुनै पनि सङ्गठित गिरोहसम्म नपुगोस् भन्नेमा हामी गम्भीर छौँ । त्यस्ता व्यक्तिहरू असङ्गठित रूपमा लुकिछिपी बसेका छन् । हामी उचित कदम चालेर जसरी पनि फिर्ता ल्याउँछौँ ।” उहाँले लुटिएका हतियार र फरार कैदीबन्दीहरू वर्तमान सरकार र व्यवस्थामाथि नै प्रयोग हुन सक्ने भएकाले कतिपय आन्दोलनबाट विस्थापितहरूले त्यसलाई दुरुपयोग गर्न सक्नेतर्फ पनि गृह मन्त्रालय सचेत रहेको बताउनुभयो ।
उहाँले कुनै पनि राजनीतिक दलले ती लुटिएका हतियार र फरार कैदी प्रयोग नगर्ने प्रतिबद्धता स्वघोषणा गर्नुपर्ने बताउँदै राज्यले त्यसलाई दुरुपयोग हुन नदिने गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रभावकारी सुरक्षा अपनाइने
केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउँदै आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि सम्पूर्ण तयारीमा जुट्ने निर्णय गरेको छ ।
गृहमन्त्री अर्यालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकमा गृह र रक्षा मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका अधिकारी तथा गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाका प्रमुखको उपस्थिति थियो ।
सो बैठकले मुलुकको शान्ति सुरक्षालाई सुदृढ पार्न आवश्यक रणनीति तयार गर्ने र निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी सुरु गर्ने निर्णय गरेको छ ।
यसअघि बसेको सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित रणनीतिक योजना तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सो कार्यदलले हालसम्म गरेको तयारीबारे पनि बैठकमा समीक्षा भएको छ । बैठकले निर्वाचनको सुरक्षा तयारीका लागि रक्षा मन्त्रालय र गृह मन्त्रालय मातहतका सबै निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न ७७ प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रदानसमेत गरेको छ ।
साथै प्रजिअहरूलाई निर्वाचन सुरक्षा र तयारीलाई पहिलो प्राथमिकतामा राखेर पूर्वतयारीमा जुट्न र आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गरी सुशासन कायम गर्न आवश्यक काम कारबाही सञ्चालनका लागि समेत निर्देशन गरिएको छ ।
पूर्वविशिष्टका सुरक्षाकर्मी फिर्ता गरिँदै
गृह मन्त्रालयले राज्यविरुद्ध अभिव्यक्ति दिने तथा कानुनविपरीतका गतिविधिमा संलग्न तथा प्राप्त सुरक्षाकर्मीहरूको दुरुपयोगको आरोप लागेका पूर्वविशिष्ट पदाधिकारीका सबै सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ । अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०८१ अनुसार गृह मन्त्रालयले बहालवाला तथा पूर्वपदाधिकारीहरूलाई सुरक्षाकर्मी खटाउँदै आएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेपछि बसेको केन्द्रीय सुरक्षा समिति बैठकले स्वीकृत कार्यविधिविपरीत खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयसँगै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा तैनाथ ५२ मध्ये ३४ र पूर्र्वप्रधानमन्त्री केपी शर्मा ओलीका ४५ मध्ये २७ जना सुरक्षाकर्मी फिर्ता भएका थिए । विभिन्न सरकारका पालमा मापदण्डविपरीत ड्राइभर, भान्से तथा घरेलु कामदारका रूपमा खटाइएका ४५० जनाभन्दा बढी अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राज्यबाट प्राप्त सुरक्षा सुविधा जोसुकै पदाधिकारीहरूले शपथका बेला व्यक्त गरेको प्रतिबद्धताविपरीत गतिविधि गर्न नमिल्ने र सुरक्षाकर्मीलाई तोकिएको जिम्मेवारीबाहेक अन्य काममा लगाएको पाइएमा पनि सुरक्षा सुविधा हटाइन सक्ने व्यवस्था रहेको बताउनुहुन्छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा विचाराधीन रहेकाले सबै सुरक्षाकर्मी फिर्ता गर्ने तयारी छ । अन्य केही विवादस्पद र विभिन्न कसुरमा अनुसन्धानको दायरामा तानिएका पूर्वविशिष्टहरूको पनि सबै सुरक्षाकर्मी फिर्ता गराउने तयारी भइरहेको छ ।
किन हुँदै छन् सुरक्षाकर्मी फिर्ता ?
कार्यविधि अनुसार सुरक्षा प्राप्त गर्ने पदाधिकारीहरूले निजी भ्रमण वा भेटघाट गर्दा प्राप्त सुरक्षाकर्मीलाई जानकारी दिनु पर्छ । त्यसको जानकारी सुरक्षाकर्मीले सम्बन्धित कार्यालयमा दिनु पर्छ ।
सुरक्षा प्राप्त गर्ने पदाधिकारीले सुरक्षाकर्मीको मर्यादा, पेसाप्रतिको सम्मान, सुरक्षा र व्यक्तिगत र संस्थाको छविमा आँच आउन दिनु हुँदैन । सुरक्षाकर्मीको अनुमति वा आवश्यक सुरक्षा जाँच बिनाकुनै पनि अपरिचित व्यक्तिले भेटघाटसमेत गर्न मिल्दैन ।
यी मापदण्डविपरीत पूर्वपदाधिकारीहरूले सुरक्षाकर्मीहरूलाई आफूखुसी प्रयोग गर्ने, द्वारपालमा खटाउने, छाता तथा झोला बोकाउने, ड्राइभर, भान्सेलगायतका घरायसी काममा दुरुपयोग
गर्ने प्रवृत्ति छ ।