• ३ कात्तिक २०८२, सोमबार

पोखरेली फूलले धान्छ पोखराको तिहार

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ३ गते । पर्यटन नगरी पोखरामा तिहारको रमझम सुरु भएको छ । दशकअघिसम्म ८० प्रतिशतसम्म फूल आयात गर्ने पोखरेलीको माग यसपालि स्थानीय फूलले नै धान्ने भएको छ । फूल खेतीमा स्थानीय आकर्षणसँगै स्थानीय सरकारको साथ र सहयोगले पोखरा तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलमा आत्मनिर्भर हुने अवस्थामा आइपुगेको छ ।  

पोखरा महानगरपालिकाभित्र तीन सयभन्दा बढी कृषकले फूल खेती गरिरहेका छन् । महानगरपालिकामा तीन सय रोपनीमा फूल खेती गरिएको महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल कास्कीका अध्यक्ष श्रीराम सुवेदीले अहिलेको उत्पादनले यसपालिको तिहार स्थानीय फूलले नै धान्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यो वर्ष तिहारका लागि आवश्यक सयपत्री र मखमली फूल पोखराकै उत्पादनले धान्छ । यो पटकको फूल उत्पादन राम्रो देखिएको छ, हामी उत्साहित छौँ ।”

यो वर्ष कास्कीमा करिब चार करोड रुपियाँ बराबरको फूलको कारोबार हुने अध्यक्ष सुवेदीको अनुमान छ । व्यवसायीलाई उत्साहित बनाउन पोखरा महानगरपालिकाले फूलको बिउ र प्रविधिमा सहयोग गरेको छ । महानगरले दिएको अनुदानबाट फूल खेती गर्ने किसानको बारीमै पुगेर उत्पादनको अवस्थाबारे जानकारी र अनुगमन गर्न थालिएको छ । 

महानगरले पोखराबाहिरबाट आयात हुने र प्लास्टिकका फूलमा प्रतिबन्ध लगाएको छ भने फूलको बजारीकरणका लागि पनि योजनाबद्ध प्रयास गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरालाई फूलमा आत्मनिर्भर बनाउन बिउ, प्रविधिदेखि बजारीकरणसम्म सहयोग गरिरहेको बताउनुभयो । 

महानगरपालिकाले असारमै किसानलाई ५० प्रतिशत अनुदानमा बिउ र मल्चिङ प्लास्टिक सहयोग गरेको थियो । महानगरपालिकामा सामूहिक र व्यक्तिगत गरी तीन सयभन्दा बढी कृषक पुष्प व्यवसायमा आबद्ध छन् । उत्पादन राम्रो भए पनि बिव्रmी नभएर किसान निराश नहुन् भनी महागनरले समर्थन मूल्य तोकेर बिव्रmी नभए सो रकम दिने गरेको छ । यसपालि फूलको थुँगाको तौलका आधारमा मूल्य निर्धारण गरिएको छ । कडरियाले  भन्नुभयो, “थुँगाको तौलका आधारमा १५ देखि २० ग्राममा प्रतिथुँगा पाँच रुपियाँ, १० देखि १५ ग्रामका लागि चार रुपियाँ र पाँच देखि १० ग्रामसम्मलाई दुई रुपियाँ तोकिएको छ ।” ठुला थुँगाबाट बनेको माला १५०, मध्यमबाट बनेकालाई १३० र सानो फूलबाट बनेकोलाई एक सय रुपियाँ मूल्य तोकिएको छ । किलोमा तीन सयदेखि चार सय रुपियाँसम्ममा फूल बेच्ने तय भएको छ । महानगरले पोखरामा २५ भन्दा बढी फूल बिव्रmी स्थल तोकेको छ । पोखराको बगर, सङ्गमचोक, नदीपुर, काहुँ जाने चौतारी, बैदाम, सभागृह, बेगनास ताल, बिरौटा, हेमजा मिलनचोक, बुढीबजार, तालचोकलगायत ठाउँका किसान बजार र वडा कार्यालयमा महानगरले तोकेको मूल्यमा फूल बेचिने छ ।