नारद कोहार
तौलिहवा (कपिलवस्तु), कात्तिक ३ गते । विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धन गर्ने विशेषज्ञको टोलीले शनिबार प्राचीन तिलौराकोटको भ्रमण अवलोकन गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको चारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी भएका विज्ञले शनिबार तिलौराकोट क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको हो ।
इकोमस इन्टरनेसनलद्वारा विश्वभरका सांस्कृतिक सम्पदालाई द्वन्द्व र विपत् जोखिमबाट जोगाउन गर्नुपर्ने तयारीका विषयमा लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा इकोमस नेपालका अध्यक्ष ज्ञानीन राईले वैज्ञानिक सम्मेलनमा विपत् प्रकोप, सम्पदा र शिक्षा, प्रकोप र संरक्षण तथा सांस्कृतिक सम्पदाको सन्दर्भमा द्वन्द्व विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले द्वन्द्वग्रस्त क्षेत्रमा सांस्कृतिक सम्पदाको संरक्षणका उपाय, विश्वसम्पदा बडापत्र, निर्देशिका र रणनीतिक योजना तथा जोखिम न्यूनीकरणमा परम्परागत ज्ञान र सांस्कृतिक बुद्धिमत्ताको ज्ञानलगायतका विषयमा समेत छलफल गरिएको बताउनुभयो । सम्मेलनले लुम्बिनी तथा कपिलवस्तुमा रहेका सम्पदाको प्रचारप्रसार विश्वभर पुग्ने विश्वास लिइएको पुरातìव विभागका प्रमुख पुरातìव अधिकृत रामबहादुर कुंँवरले बताउनुभयो । सम्मेलनमा ६७ देशका २१६ विदेशी सहभागी भएका थिए । सयभन्दा बढी नेपालीले सम्मेलनमा सहभागिता जनाएका हुन् । विदेशबाट अनलाइनमार्फत पाँच सयभन्दा बढी जोडिएका थिए । सम्मेलनमा पुरातìवविद्, सम्पदाविज्ञ, आर्किटेक्ट इन्जिनियर, स्टोनविज्ञ र सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञ र अनुसन्धानकर्ताको सहभागिता रहेको थियो । युनेस्कोका सल्लाहकार निकायका रूपमा रहेको इकोमस (अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद्) ले मुख्य रूपमा विश्वसम्पदा सूचीमा अभिलेखका लागि विश्वभरबाट प्रस्तावित सांस्कृतिक तथा मिश्रित सम्पदाको मूल्याङ्कन गरेर विश्वसम्पदा केन्द्रलाई प्रदान गर्ने गरेको इकोमस नेपालकी सचिव एनी जोशीको भनाइ छ । स्मारक, सांस्कृतिक परिदृश्य र सांस्कृतिक सम्पदा स्थलको संरक्षण, सुरक्षा, प्रयोग र प्रवर्धन गर्न एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा सन् १९६५ मा स्थापित इकोमसको अन्तर्राष्ट्रिय सचिवालय पेरिसमा छ ।
इकोमसका ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन् । यसअघि चार दिनसम्म चलेर इकोमसको ६० औँ महासभा लुम्बिनीमा मङ्गलबार सकिएको थियो । तिलौराकोट गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ हो ।