• ३ कात्तिक २०८२, सोमबार

बृहत्तर वराहक्षेत्र परिक्रमा

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, कात्तिक ३ गते ।   धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगद्गुरु बालसन्त मोहनशरणले स्थानीय धार्मिक र पौराणिक सम्पदाको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेदेखि सुरु भएको छ । बृहत्तर वराहक्षेत्रभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, तीर्थहरूको प्रवर्धन, प्रचार उजागर गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिनुभयो ।

कुम्भ स्थल चतराधामबाट सुरु भएको १५ दिने धार्मिक पदयात्राले सुनसरी, उदयपुर र धनकुटाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने बताइएको छ । चतराधामबाट सुरु भएको पदयात्राले चतराधाम क्षेत्रबाट सप्तकोशी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाङ्काल भगवतीको पहिलो दर्शन गरिने जगद्गुरु बालसन्त मोहनशरणले बताउनुभयो । उहाँका अनुसार कोशी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ । पदयात्रीले मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शनका लागि पुग्ने गरेको बताइएको छ । 

पदयात्राको रुटमा पर्ने त्रिवेणीधाम, सफाइटार कामाञ्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्तिधाम, बेलहरा, साँगुरीगढी, नमस्ते झरना हुँदै कार्कीछाप भेडेटार हुँदै पदयात्रा धरान आइपुग्ने जनाइएको छ । पदयात्रीले धरानको शिवजट्टाधाम, वसुधाराधाम, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर हुँदै तरहराबाट इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरूपेश्वर महादेवको दर्शन गरिने रुट रहेको जगद्गुरु बालसन्तले जानकारी दिनुभएको छ । 

त्यसै गरी सुनसरीमै रहेको रामपुरा, मानपुर सिङ्घियाको रुट हुँदै रामधुनी मन्दिरको परिक्रमापछि पदयात्रा प्रकाशपुर, राजाबास, सालबनी हुँदै शक्ररुद्र तीर्थ, वराह भगवान्को गर्भगृहको दर्शन गरिने जगद्गुरु बालसन्त मोहनशरणले जानकारी दिएभएको छ । जगद्गुरु मोहनशरणले बृहत्तर वराहक्षेत्र पदयात्रा २०८० सालदेखि सुरु गर्नुभएको थियो ।