• १६ वैशाख २०८१, आइतबार

माधवनारायणको पूजाअर्चना

blog

भक्तपुर, माघ १२ गते ।  भक्तपुरको हनुमन्तेस्थित हनुमान घाटमा भक्तजनले बिहीबार बिहान नुहाएर माधवनारायणको पूजाअर्चना गरेका छन् । माधवनारायण व्रत सेवा समितिका लक्ष्मीप्रसाद रञ्जितका अनुसार व्रत लिनेहरू बालकदेखि वृद्धसम्म हुने भएकाले उनीहरूको स्वास्थ्यको अवस्थालाई ध्यानमा राखिएको छ । 

संस्कृतिविद् ओम धौभडेलले व्रत बस्ने विधिमा कठिनाइ भएको जानकारी दिँदै व्रतालुको शरीर त के छायामा पनि छुन हुँदैन भन्ने जनविश्वास रहेको बताउनुभयो । ‘माघव्रत’ को समयमा खाना खाने बेलामा कुनै कारणवश खानामा कपाल या कनिका आएमा व्रतालुले सो खानासमेत खान नहुने विधि रहेको जानकारी दिनुभयो । यसै गरी व्रत सकेर नारायण पूजामा जाँदा माधवनारायण भनेर जप्दै जानुपर्ने परम्परा छ । नेसं ७२२ माघ धलं नामक व्रत धर्म माघ महिनाभरि माधवनारायणको अनुष्ठान गरी कथा सुन्ने चलन चलिआएको ‘पुरानी थ्याः सफु’ (किताब) मा उल्लेख गरिएको छ । उक्त व्रतानुष्ठान भक्तपुरका राजोपाध्याय ब्रह्मणहरूले पनि चलाउँदै आएका थिए ।

नेसं ८४९ मा रणजित मल्लले आफ्ना छोराहरूलाई यस व्रतमा संलग्न गराई माधवनारायण, लक्ष्मी, सरस्वतीको ढुङ्गाको मूर्ति हनुमानघाटमा स्थापना गरी उक्त व्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपालो चलाएको धौभडेलले जानकारी दिनुभयो । उहाँले २०४२ सालतिर श्रद्धालु भक्तजनले ‘माघव्रत’ को पुनरुत्थान गरी हनुमानघाटमा माधवनारायणको पूजा, व्रतकथा श्रवण आदि चलेको हो । यो हालसम्म पनि परम्पराकै रूपमा चलिआएको उहाँले प्रस्ट पार्नुभयो । यो व्रतबाट पार्वतीले महादेव पाएको मात्र मनोकाङ्क्षा नभई हरेक मनोकाङ्क्षा पूरा गर्ने आस्थाको घरोहरका रूपमा लिन सकिन्छ ।