• १२ कात्तिक २०८२, बुधबार

कात्तिके वर्षा र हिमपात : हजारौँ पर्यटक प्रभावित

blog

मनाङमा भारी हिमपात भएपछि मङ्गलबार पदमार्गमा फसेका पर्यटकको उद्धार गर्दै सुरक्षाकर्मी । करिब एक हजार पर्यटक तिलिचो बेसक्याम्प तथा खाङ्सारमा सुरक्षित रहेका छन् भने बिरामी परेका पर्यटकको उद्धार भइरहेको छ । तस्बिर : रासस

काठमाडौँ, कात्तिक १२ गते । वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार, लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको जनाइएको छ । साथै मुस्ताङमा समेत पर्यटकले हिमपातका कारण सास्ती खेप्नु परेको छ । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । 

सम्भावित जोखिम कम गर्न विभिन्न हिमाली क्षेत्रको पदयात्रामा रोक लगाएपछि विभिन्न स्थानमा पुगेका पर्यटक होटेलमै रोकिएका छन् । म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि भएको वर्षासँगैको हिमपातका कारण पदमार्ग तथा सडक दुवै अवरुद्ध हुँदा पदयात्री रोकिएका हुन् । मनाङमा सोमबारदेखि जारी भारी हिमपातका कारण यातायात अवरुद्ध भएपछि उपल्लो मनाङ घुम्न गएका पर्यटक बाटोमै रोकिएका छन् ।

पदयात्रा नगर्न अनुरोध

मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हिमपात र खराब मौसमका कारण सार्वजनिक सूचना जारी गर्दै हाललाई पदयात्रा नगर्न अनुरोध गरेका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पर्यटकको बाक्लो आहोरदोहोर हुने मुख्य याममै भएको हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । उहाँले भन्नुभयो, “हिमपातका कारण उपल्लो मनाङमै रोकिएका ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । हिमपातले सडक, पदमार्ग र सम्पर्क मार्ग सबै प्रभावित भए पनि पर्यटक सुरक्षित छन् ।”

प्रशासनले मौसममा सुधार नआएसम्म जोखिमपूर्ण क्षेत्रतर्फ नजान आग्रह गरेको जानकारी दिँदै अहिले विभिन्न पदमार्ग, तिलिचोताल र थोराङ्ला भन्ज्याङ पार, फु, अन्नपूर्ण संरक्षण क्षेत्रलगायतका क्षेत्रको पर्यटक आवागमन प्रभावित भएको उहाँको भनाइ छ । 

अर्को हिमाली जिल्ला मुस्ताङको भ्रमणमा निस्केका पर्यटकले पनि सडकमार्गको यात्रामा सास्ती खेप्नु परेको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले हिमपातका कारण विदेशी तथा आन्तरिक पर्यटकलाई कागबेनीदेखि उपल्लो मुस्ताङ जान रोक लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले जिल्लामा दैनिक सरदर पाँचदेखि सात हजार पर्यटक भित्रिने गरेका छन् । हिमपातका कारण बाटो अवरुद्ध नभए पनि हिमाली भेगको जनजीवन अस्तव्यस्त बनेको छ । अहिलेका लागि खानपिन र बसोबासमा समस्या छैन । हामीले होटेल व्यवासायीलाई पनि पाहुनालाई सहजै सेवा दिन भनेका छौँ ।”  

पदयात्राको सिजन पर्ने यो समयमा परेको बाक्लो हिमपातले हिमाली क्षेत्रको पदयात्रामा निस्केका आन्तरिक र बाह्य पर्यटकको यात्रा प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो । धवलागिरि सर्किट, हिडन भ्यालीलगायतका पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटक आपत्को अवस्थामा भने नरहेको उहाँको भनाइ छ । तिहारलगत्तै मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक र बाह्य पर्यटकको अहिले मुस्ताङमा भिडभाड रहेको छ । मुस्ताङमा ३५० वटा होटेल छन् । ती होटेलमा एक रातमा १२ हजार पाहुना अट्ने क्षमता भएकाले खानपिन र बसोबासको कुनै समस्या नभएको जनाइएको छ । 

उता सगरमाथा क्षेत्रमा भएको हिमपताका कारण हिमाली पर्यटन प्रभावित भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले पर्यटक सबै होटेलभित्रै रहेको बताउनुभयो । 

कात्तिक १ देखि १० गतेसम्म पाँच हजार ३९० जना पर्यटक लुक्लाबाट जिल्ला प्रवेश गरेको जानकारी दिँदै उहाँले हाल लुक्लाभन्दा माथि करिब दुई हजार पर्यटक भएको र बाक्लो हिमपात भएको क्षेत्र लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको बताउनुभयो ।उत्तरी गोरखाको विभिन्न स्थानमा भएको भारी हिमपातका कारण  लार्केपास र मनासलु क्षेत्रको भ्रमणमा गएका पर्यटक चुमनुब्री गाउँपालिका–१, साम्दो र सामागाउँमा रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि हिमपातपछि सूचना जारी गर्दै अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाएको छ । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटक सुरक्षित रहेका छन् । पर्यटन विभागले आरोहण तथा पदयात्राका क्रममा समस्यामा परेका पर्यटकलाई उद्धार गर्न सम्पर्क व्यक्ति तोकेको छ ।

   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।