काठमाडौँ, फागुन २४ गते । पश्चिम एसियाका देशमा चुलिएको तनावका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा असर देखिन थालेको छ । कतार, कुवेत र दुबई जस्ता ओहोरदोहोर हुँदै आएको र मुख्य ट्रान्जिट गन्तव्यको उडान एक सातादेखि रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडान र यात्रुको सङ्ख्या घटेको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको प्रतिउत्तरमा इरानले गरेको प्रत्याक्रमणपछि पश्चिम एसियाका अधिकांश देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपालमा अन्तर्राष्ट्रिय आवागमन आधा घटेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले भन्नुभयो, “पछिल्लो एक सातादेखि कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्रमा प्रतिबन्ध हुँदा प्रमुख सात वटा वायुसेवा कम्पनीका दैनिक दुई दर्जनभन्दा बढी उडान रद्द हुँदै आएका छन् ।” तत्कालका लागि फ्लाई दुबई र एयर अरेबियाले नेपालमा राहत उडान सुचारु गरे पनि यात्राकै व्रmममा रोकिएका यात्रुले मात्रै प्राथमिकता पाइरहेको उहाँले जानकारी दिए । उडानको अनिश्चितताबिच निर्वाचनलगायतका कारण यात्रु र उडान ओहोरदोहोरमा कमी आएको उहाँले बताउनुभयो ।
हाल पश्चिमी मुलुकतर्फ कतारको दोहा, संयुक्त अरब इमिरेट्स (युएई) को दुबई, सारजाहलगायतका गन्तव्यमा युद्धको प्रभावका कारण हवाई आकाश बन्द हुँदा त्यसको असर नेपालमा पनि पर्दै आएको प्रवक्ता बस्नेतले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिम एसियाको हवाई आकाश भएर हुँदै आएको उडान रोकिएपछि पछिल्लो समय युरोप, अमेरिका, अस्ट्रेलियालगायतका गन्तव्यमा जाने यात्रुले ट्रान्जिट परिर्वतन गरेर यात्रा गर्न थालेका छन् । यसअघि कतार, दुबईलगायतका ट्रान्जिट भएर संसारका विभिन्न गन्तव्यमा जाने यात्रु अहिले भारत, मलेसिया र चीनका विभिन्न गन्तव्य रोज्न थालेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पश्चिम एसियाको हवाई आकाशमा जारी प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्र र समग्र पर्यटन क्षेत्रमा यसको असर परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले दैनिक १६ हजार हाराहारीभन्दा बढी यात्रुले काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएकामा एक सातादेखि उक्त सङ्ख्या आधा घटेको छ । यसले एकातर्फ विमानस्थलको आम्दानी घट्दै छ भने अर्कोतर्फ नेपालबाट बाहिर जाने विद्यार्थी, श्रमिकलगायत यात्रु र पर्यटनको मुख्य सिजनमै अन्तर्राष्ट्रिय हवाई सञ्जालमा असर देखिएपछि समग्र पर्यटन क्षेत्रलाई असर पुगिरहेको छ ।”
नेपालको विश्वसँगको हवाई सञ्जाल मध्यपूर्वीका गन्तव्यसँग जोडिएका कारण उक्त गन्तव्यका हवाई आकाशमा जारी अवरोध लम्बिए यसले देशको समग्र पर्यटन क्षेत्रमा असर पुग्ने उहाँले बताउनुभयो ।
विमानस्थल कार्यालयका अनुसार गत फागुन १६ गतेअघि दैनिक एक सय हाराहारी अन्तर्राष्ट्रिय उडान हुँदै आएकामा अहिले दैनिक ५० को हाराहारीमा सीमित भएको छ । त्यस्तै उक्त समयमा दैनिक १६ हजार हाराहारी यात्रुले अन्तर्राष्ट्रिय उडान गर्दै आएकोमा पछिल्लो एक सातामा उक्त सङ्ख्यासमेत आधा घटेको छ ।
फागुन १२ देखि १६ गतेसम्म २४३ उडान अवतरण र ७८ हजार २९१ यात्रुले यात्रा गरेकोमा एकाएक खाडीका गन्तव्यको उडान रोकिएपछि फागुन १७ देखि २१ गतेसम्म १७८ उडान अवतरणबाट ४८ हजार २७४ यात्रुले मात्रै अन्तर्राष्ट्रिय उडान सेवा लिएका छन् ।