• १२ कात्तिक २०८२, बुधबार

क्यालेन्डर कार्यान्वयनको दबाबमा त्रिवि

blog

काठमाडौँ, कात्तिक १२ गते । त्रिभुवन विश्वविद्यालयले यसअघि जारी गरेको विभिन्न अध्ययन संस्थान तथा सङ्कायका स्नातक र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०८२ को वार्षिक शैक्षिक पात्रो सार्वजनिक गरेको छ । 

त्रिवि कार्यकारी परिषद्ले स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको उक्त पात्रो हालै सार्वजनिक गरिएको हो । जेनजी समूहको आन्दोलनका कारण यसअघि सार्वजनिक भएको शैक्षिक पात्रो नै भताभुङ्ग भएपछि त्रिवि दबाबमा परेको छ । 

पछिल्लो समय सार्वजनिक भएको तालिका अनुसार वार्षिक प्रणालीमा पढाइ हुने स्नातक तह पहिलो वर्षका विद्यार्थीको पढाइ आगामी मङ्सिरबाट सुरु हुने छ । ती विद्यार्थीको चौथो वर्षको पढाइ २०८५ मङ्सिर महिनाभित्रमा सक्ने गरी त्रिविले तालिका सार्वजनिक गरेको छ । चैथो वर्षका विद्यार्थीका परीक्षाको नतिजा २०८५ चैत महिनाभित्रमा सार्वजनिक भइसक्नुपर्ने छ । 

अहिले वार्षिक प्रणाली अनुसार भर्ना हुने स्नातक तहका विद्यार्थीको पढाइ चार वर्षको हुन्छ । नयाँ तालिका अनुसार पहिलो वर्ष भर्ना भएका विद्यार्थीको चौथो वर्षको पढाइ तीन वर्षभित्रमा सम्पन्न गर्नुपर्ने बाध्यतामा त्रिवि परेको छ । दोस्रो र तेस्रो वर्षको पढाइ पनि हतारमा सक्ने गरी तालिका सार्वजनिक भएको छ । 

त्यस्तै सेमेस्टर प्रणाली अनुसार स्नातक तहको पढाइ हुने अध्ययन संस्थान र क्याम्पसमा स्नातक तह पहिलो सेमेस्टरको पढाइ आगामी मङ्सिर महिनाबाट सञ्चालन हुने छ । कात्तिक महिनाभित्रमा अध्ययन संस्थान र क्याम्पसले प्रवेश परीक्षा सञ्चालन, भर्नालगायतका काम गर्नुपर्ने छ । मङ्सिरमा पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी चैतमा हुने छ । उनीहरूको नतिजा २०८३ असारमा सार्वजनिक हुने छ । सेमेस्टर परीक्षाको नतिजा प्रकाशन भएको दुई महिनाभित्रमा मौका परीक्षा सञ्चालन गर्ने पनि त्रिविले जनाएको छ । 

नयाँ शैक्षिक क्यालेन्डर अनुसार स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना हुनका लागि आगामी मङ्सिरमा आवेदन आह्वान गरिने छ भने पुसमा प्रवेश परीक्षा सञ्चालन हुने छ । त्यस्तै प्रथम सेमेस्टरको पढाइ माघबाट सुरु हुने छ । प्रथम सेमेस्टरको परीक्षा २०८३ असारमा हुने छ । पात्रो अनुसार स्नातक तह अन्तर्गत चौथो सेमेस्टरको पढाइ सञ्चालन र परीक्षा सम्पन्न भएर २०८४ मङ्सिरमा नतिजा प्रकाशन हुने छ । 

शैक्षिक पात्रो अनुसार वार्षिक प्रणाली अनुसार पढाइ सञ्चालन हुने विषयको परीक्षा सञ्चालन भएको तीन महिनाभित्रमा नतिजा सार्वजनिक गर्नुपर्ने छ । यसअघि त्रिविमा परीक्षा सकिएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको आरोप लाग्दै आएको छ । 

जेनजी समूहको आन्दोलनका कारण शैक्षिक पात्रो अनुसार सञ्चालन गर्नुपर्ने वार्षिक र सेमेस्टर प्रणाली अनुसारको परीक्षा स्थगित भएका कारण पात्रो नै संशोधन गर्नुपर्ने अवस्था आएको त्रिविले जनाएको छ । सोही आन्दोलनका कारण त्रिविले स्नातक तहमा नयाँ भर्नाका लागि प्रवेश परीक्षासमेत सञ्चालन गर्न सकेको थिएन । त्यस्तै स्नातक र स्नातकोत्तर तहका केही वर्ष र सेमेस्टरका सञ्चालन भइरहेका केही विषयका परीक्षा पनि रोकिएको थियो । 

जेनजी समूहको आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजानी हुँदा परीक्षा सम्पन्न भइसकेका केही विषयका उत्तरपुस्तिकासमेत जलेका थिए । ती विषयका परीक्षा फेरि सञ्चालन गर्नुपर्ने छ । त्यस्तै स्नातक तह प्रथम वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा सञ्चालनमा पनि ढिलाइ भएको थियो । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले नयाँ तालिका अनुसार शैक्षिक गतिविधि सञ्चालन गरिने बताउनुभयो । 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।