• १४ चैत २०८२, शनिबार

नाडी छाम्ने हातमा कानुन बनाउने कलम

blog

रेखीराम राना 

तानसेन, चैत १४ गते । बर्सौंदेखि परीक्षण गरिएका राष्ट्रिय राजनीतिमा स्थापित अनुहार र स्थापित राजनीतिक दलका किल्ला भत्काउँदै एक चिकित्सकले गत फागुन २१ गते भएको निर्वाचनमा संसद्को यात्रा तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित डा. माधवबहादुर थापाको राजनीतिक जीवनी भने त्यति लामो छैन तर पनि लामो राजनीति इतिहास बोकेका पार्टी र तिनका उम्मेदवारलाई थापाले हराउन सफल हुनुभयो । 

करिब डेढ दशकसम्म बिरामीको नाडी छामेर बस्नुभएका डा. थापाले यस पटक पाल्पा–२ का मतदाताको मनोविज्ञान यसरी छाम्नुभयो कि चुनावी नतिजाले धेरैलाई स्तब्ध बनाइदियो । सक्रिय राजनीतिमा कुनै खास पृष्ठभूमि नभएका थापाले पूर्वमन्त्री र प्रभावशाली नेतालाई भारी मतान्तरले पराजित गर्नुभयो । उहाँले २६ हजार ७३६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठ १२ हजार ९९१ मतमा खुम्चिनु प¥यो । यो जित केवल एक व्यक्तिको विजय मात्र होइन, बरु परम्परागत राजनीतिक शैलीप्रति जनताले गरेका विद्रोहको सङ्केत पनि हो ।

२०३७ कात्तिक ४ गते एक सामान्य किसान परिवारमा जन्मिनुभएका थापाको जीवनको यात्रा सङ्घर्षपूर्ण छ । भारतको मध्य प्रदेशस्थित आरकेडिएम होमियोप्याथिक अस्पतालबाट विशेषज्ञता हासिल गरेका थापा स्वास्थ्य क्षेत्रका कुशल व्यक्ति मानिनुहुन्छ । विशेष गरी पक्षघात (प्यारालाइसिस) भएका बिरामीलाई नयाँ जीवन दिएका कारण बुटवल र वरपरका क्षेत्रमा उहाँ असल व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।

डेढ दशकसम्म नेपाली कांग्रेसमा आस्था राखे पनि उहाँले आफ्नो परिचय सधैँ ‘सेवासँग’ मात्र जोड्नुभयो । बुटवलमा कालिका होमियोप्याथिक अस्पताल सञ्चालन गरिरहनुभएका थापाले कोभिड–१९ को भयावह समयमा देखाएको सक्रियता नै उहाँको राजनीतिको बलियो जग बन्यो । हजारौँ बिरामीलाई निःशुल्क औषधी वितरण गर्दै गाउँ गाउँ पुग्दा उहाँले जनताको दुःखलाई नजिकबाट नियाल्ने मौका पाउनुभयो ।

डा. थापाको भनाइमा राजनीति सत्ताको भ¥याङ होइन, बरु समाजमा व्याप्त भ्रष्टाचार र बेथितिको उपचार गर्ने ‘औषधी’ हो । उहाँ भन्नुहुन्छ, “मैले अहिलेसम्म शरीरका रोग निको पार्ने प्रयास गरेँ, अब समाज र व्यवस्थामा लागेको भ्रष्टाचारको क्यान्सर निको पार्न संसद् छिरेको छु ।”

उहाँको मुख्य एजेन्डा सुशासन, सामाजिक न्याय र दिगो विकास हो । देशबाट युवाको लामबद्ध पलायन देख्दा उहाँ चिन्तित हुनुहुन्छ । त्यसैले त उहाँ ‘जेनजी’ (नवयुवा) पुस्ताको भावना बुझेर अघि बढ्ने प्रण गर्नुहुन्छ । युवालाई स्वदेशमै रोक्न सक्ने रोजगारमूलक नीति बनाउनु आफ्नो प्राथमिक कार्यभार रहेको उहाँको ठम्याइ छ ।

समाजमा देखिएको विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य गर्न आफ्नो मुख्य ध्यान रहने डा. थापाको दृढता छ । सुशासन, सामाजिक न्याय, भ्रष्टाचार निवारण र दिगो विकासका लागि काम गर्ने अठोट लिएको उहाँ बताउनुहुन्छ ।

पाल्पाली जनताले डा. थापालाई ठुलो विश्वासका साथ मत दिएका छन् । यो जितलाई उहाँ ‘उत्सव’ भन्दा पनि ‘थप जिम्मेवारी’ का रूपमा लिनुहुन्छ । प्रभावशाली उम्मेदवारलाई हराएर संसद् पुग्नु आफैँमा चुनौतीपूर्ण छ तर थापाको आत्मविश्वास दृढ छ । उहाँ विगतका राजनीतिक कमीकमजोरीलाई नदोहो¥याउने र विकासको नयाँ मोडेल पाल्पामा भित्र्याउने अठोटमा हुनुहुन्छ ।

आफ्नो जित परिवर्तन चाहने मतदाताको जित भएको उहाँ बताउनुहुन्छ । आफ्नो विजयलाई उत्सवका रूपमा भन्दा पनि सेवाका रूपमा लिएर अघि बढ्ने उहाँको धारणा छ ।

उपचार गर्न पेसागत मर्यादा कायम राख्दै सेतो कोट लगाउँदै आएका थापाले सो पोसाक फुकालेर राजनीतिमा होमिँदा पहिलो पटक सफलता प्राप्त गर्नुभयो । अब डा. थापाले संसद्मा कस्तो भूमिका खेल्नुहुन्छ, त्यो त हेर्न बाँकी छ तर उहाँले जगाएको आशाले पाल्पाली जनतामा एउटा नयाँ उत्साह भने पक्कै भरेको छ ।