नवराज नेपाली
बागलुङ (गलकोट), चैत १४ गते । करिब २९ करोड लागतमा सडक डिभिजन कार्यालय बागलुङअन्तर्गत बागलुङ बजारदेखि सिगाना पुग्ने १० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।
बागलुङ जिल्ला सदरमुकामसँगैको सिगाना गाउँमा ट्र्याक खुलेको २८ वर्षपछि सडक कालोपत्र सम्पन्न भएको हो। तीन वर्षअघि रु. २९ करोडमा ठेक्का सम्झौता गरी कर्ण बिल्डर्सले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको हो।
पहिले उकालो र चिस्यानयुक्त कच्ची सडकका कारण ट्याक्टर र जिप फस्ने समस्या थियो। अहिले भने सडक कालोपत्र भएपछि साना सवारीसाधन सहजै गुड्न थालेका छन्। यसले स्थानीयलाई बागलुङ बजार आउ–जाउमा मात्रै होइन, सिगानामा उत्पादन हुने सुन्तला ढुवानीमा पनि सहजता ल्याएको छ।
उकालो कच्ची सडकका कारण स्थानीयले भोग्दै आएको सास्ती अब अन्त्य भएको छ। चिटिक्क परेको कालोपत्र सडकले गाउँको स्वरूप नै परिवर्तन गरेको स्थानीय बताउँछन्।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीका अनुसार निर्माण व्यवसायीले मुख्य काम सम्पन्न गरी सडक हस्तान्तरण गरिसकेको भए पनि एक वर्षसम्म मर्मत–सम्भार गर्ने व्यवस्था छ। उहाँले स्थानीयको सहयोगमा सडक राम्रोसँग सम्पन्न भएको र यसले सुन्तला ढुवानीमा विशेष सहयोग पुगेको बताउनुभयो।
पहिले उकालो र साँघुरो सडकका कारण गन्तव्यमा पुग्न दुई–तीन घण्टा लाग्ने गरे पनि अहिले २० मिनेटमै सिगाना पुग्न सकिने स्थानीय राजन जिसीले बताउनुभयो। उहाँका अनुसार केही स्थानमा मर्मत–सम्भारको काम बाँकी रहेकाले त्यसबारे सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको छ।
सिगाना गाउँ सुन्तला उत्पादनका लागि प्रसिद्ध छ। यहाँका किसानले वार्षिक करिब चार करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्ने गरेका छन्, जसको ढुवानीमा सडकले थप सहजता ल्याएको छ।
एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत निर्माण गरिएको उक्त सडक अहिले सञ्चालनमा आइसकेको छ। हाल सिगानासम्म नियमित रूपमा स्कुल बस, कार र अटोरिक्सा पुग्न थालेका छन्।
यसअघि काठेखोलाका कारण वर्षायाममा यातायात अवरुद्ध हुने समस्या थियो। विसं २०६४ मा काठेखोलामाथि मोटरेबल पुल निर्माण भएपछि बाह्रैमास सवारी सञ्चालन सम्भव भएको थियो भने अहिले कालोपत्रपछि यात्रा झन् सहज बनेको चालक गोविन्द पौडेलले बताउनुभयो।
बागलुङ क्षेत्र नं. १ अन्तर्गत बागलुङ बजार, अदालत चौरपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह र बरेङ शान्तिपुर जोड्ने ३० किलोमिटर सडकको पहिलो चरणअन्तर्गत १० किलोमिटर कालोपत्र गरिएको हो। २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको उक्त सडक तीन वर्षमा सम्पन्न भएको हो।