• १४ चैत २०८२, शनिबार

मादी पुलको काम ८० प्रतिशत सम्पन्न

blog

पृथ्वीराजमार्गमा बन्दै गरेको चार लेनको पुलको पुल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १४ गते ।
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनामा पर्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने उक्त पुल निर्माणले अहिले तीव्रता पाएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलको मुख्य संरचनागत काम लगभग सम्पन्न भइसकेको छ भने अहिले माथिल्लो संरचना र फिनिसिङका कामहरू भइरहेको छ । फाउन्डेसन र पिल्लर निर्माण जस्ता जटिल काम पूरा भइसकेकाले अब बाँकी काम चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

पुलमा छ वटा स्पान छन् । निर्माणका लागि सन् २०२२ अगस्ट ११ मा एक अर्ब २१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा जेडआइष्ट–अन्नक जेभीले लिएको छ।

निर्माण कम्पनीका साइट इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेका अनुसार पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दैनिक करिब एक सय २५ जना कामदार निर्माणस्थलमा खटिएका छन् । डिजाइन परिवर्तनले गर्दा प्रारम्भिक चरणमा करिब छ महिना ढिलाइ भए पनि अहिले काम तीव्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो ।

मादी नदीमाथि हाल सञ्चालनमा रहेको पुरानो पुल तीन सय ७० मिटर लामो दुई लेनको छ । नयाँ पुल सोही पुलबाट करिब ५० मिटर दूरीमा निर्माण भइरहेको हो । नयाँ संरचना भने आधुनिक ‘आर्क डिजाइन’ मा आधारित चार लेनको पुल हुने भएकाले यो पृथ्वीराजमार्गकै सबैभन्दा आकर्षक र आधुनिक पुल बन्ने अपेक्षा गरिएको छ ।

आयोजनाका अनुसार पुलको डिजाइन यातायात आवागमनका लागि मात्रै नभई पर्यटक आकर्षित गर्ने हिसाबले पनि कलात्मक बनाइएको छ। पृथ्वीराजमार्ग विस्तारसँगै निर्माण भइरहेको यो पुल सञ्चालनमा आएपछि दमौली क्षेत्रमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

पृथ्वीराजमार्ग विस्तार परियोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा स्तरोन्नति भइरहेको छ । यसअन्तर्गत मुग्लिन–पोखरा सडकको पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।