राजन रावत
हुम्ला, चैत १४ गते । जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ र ६ का स्थानीय तथा बजार क्षेत्रका उपभोक्ताका लागि खानेपानी आपूर्ति गर्न मुहानमा प्लाष्टिक बिछ्याएर इन्टेकमा पानी खसालिने गरिएको छ। बर्खामा खोलामा पानी बग्ने भएकाले अस्थायी उपायको रूपमा मुहानमा प्लास्टिक बिछ्याइएको हो।
सिमकोट खानेपानी उपभोक्ता समितिका टेक्निसियन रुपेन्द्र रोकायाले जानकारी दिनुभयो, “खोला किनारमा स्थायी इन्टेक निर्माण गर्न तत्काल बजेट नहुँदा खोला नै प्लाष्टिकले ढाकेर पाइपमार्फत इन्टेकसम्म पानी आपूर्ति गरिरहेका छौं। यदि प्लास्टिक नबिछ्याइयो भने पानी खोला भित्रै छिर्ने भएकाले यो उपाय अपनाइएको हो। अहिलेको अवस्था कायम रहनेसम्म यो उपाय बाहेक विकल्प छैन।”
खानेपानी योजनाका लागि तीन वटा मुहानबाट पानी आपूर्ति भइरहेको र तीन वटै मुहानमा चुहिने पानीलाई रोक्न प्लास्टिक बिछ्याएर व्यवस्थापन भइरहेको रोकायाले बताउनुभयो। दैनिक रूपमा मुहानसम्म पुगेर प्लास्टिक मिलाउने कार्य पनि भइरहेकाले पानी आपूर्ति केही हदसम्म व्यवस्थित भइरहेको छ।
पानीको स्रोत कम र खोलाबाट चुहिने पानीका कारण समस्या भए पनि प्लास्टिक प्रयोगले आपूर्ति सहज भएको छ। सिमकोट बजार र दुई वटा वडाका उपभोक्ताहरूको लागि तीन वटा मुहानबाट पानी ल्याएर पचास हजार लिटर क्षमताको ट्याङ्की, चार वटा बीस हजार लिटर क्षमताका ट्याङ्की र दुई वटा दस हजार लिटर क्षमताका ट्याङ्कीबाट राति रिजर्भ गरी बिहान १ लाख ५० हजार लिटर पानी वितरण गरिन्छ। दिनभर ती ट्याङ्कीमा पानी रिजर्भ राखेर बेलुकी वितरण गरिन्छ।
यसरी समितिले ४३७ वटा व्यक्तिगत धारामा र दुई वटा सार्वजनिक धाराबाट दैनिक आधा–डेढ घण्टासम्म पानी वितरण गर्दै आएको छ। यद्यपि चालीस वर्ष पुराना ट्याङ्कीको अवस्था जिर्ण भएकाले अझ सुधार आवश्यक छ। समितिले करिब चार हजार जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्दै आएको छ।