चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १६ गते । ताप्लेजुङमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार जिल्ला फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेम खोला किनारमा उक्त शव फेला परेको हो ।उक्त शव तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ गैरीगाउँका ४० वर्षीय यमराज लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक यावदका अनुसार निकै सडेको अवस्थामा फेला परेको शव हातमा खोपेको ट्याटुका आधारमा लिम्बूको रहेको पहिचान भएको हो ।
लिम्बू फक्ताङ्लुङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजनामा काम गर्दै आएका बुझिएको छ ।गत फागुन ८ गते घर जान्छु भनी काम गर्दै आएको आयोजना स्थलबाट हिँडेका लिम्बू घर नपुगी बेपत्ता भएका थिए ।
बेपत्ता अर्थात सम्पर्कविहीन भएपछि आफन्तले लिम्बूको खोजी गर्न हुलियासहित चैत १ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा निवेदन दिइएको थियो ।
आफन्तले दिएको निवेदनपछि खोजी कार्यलाई तीब्र बताइरहेका बेला शव फेला परेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनास्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताल पुर्याएको यादवले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धानको कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।