अमरराज नहर्की
तनहुँ, चैत १६ गते । तनहुँमा परम्परागत ‘घुमाउने घरहरू लोप हुँदै जान थालेका छन् । केही वर्ष अघिसम्म जिल्लाका दरै बस्तीहरूमा बाक्लै देखिने यस्ता मौलिक घरहरू अचेल फाट्टफुट्ट मात्रै देख्न पाइन्छ ।
गाउँ–गाउँमा सडक सञ्जाल पुगेसँगै इँटा, सिमेन्ट र जस्तापाताको प्रयोग बढेपछि दरै जातिको वास्तुकलाको नमुना मानिने यी घरहरू इतिहासमा सीमित हुने खतरा बढेको हो ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत घुमाउने घर केवल बस्ने थलो मात्र नभई यो वातावरणमैत्री र उत्कृष्ट वास्तुशास्त्रको नमुना भएको बताउनुहुन्छ ।
बस्नेत भन्नुहुन्छ, “घुमाउने घर हाम्रो मौलिक इन्जिनियरिङको अद्भुत नमुना हो । पूर्व र पश्चिम धुरी हुने भएकाले यसमा सूर्यको प्रकाश उदाउँदादेखि अस्ताउँदासम्म परिरहन्छ, जुन स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक छ । रातो माटोले लिपपोत गरिएको र खरले छाइएका यी घरहरू ‘प्राकृतिक एयर कन्डिसनर’ जस्तै हुन्, जसले जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्दछन् ।”
बस्नेतका अनुसार वास्तुशास्त्र अनुसार उपयुक्त मानिने यी घरको माथिल्लो तलामा अन्न भण्डारण गर्ने र तल्लो तलामा ढिकी–जाँतोसहित चार वटा कोठा रहने विशिष्ट संरचना हुन्छ।
उहाँ स्मरण गर्नुहुन्छ, “केही समयअघि अमेरिकी नागरिकहरू समेत यसको विशेषता बुझ्न भादगाउँ आएका थिए । तर, विडम्बना हिजोका ती सबै घुमाउने घरहरू अहिले भत्काइएका छन्, नयाँ पुस्ताले बनाउन छाडेका छन् । हाम्रो पहिचान जोगाउन अब ढिला भइसकेको छ ।”
आधुनिक जीवनशैलीप्रति युवा पुस्ताको बढ्दो आकर्षण र घर छाउने खरको अभावले पनि संरक्षणमा चुनौती थपेको आदिवासी जनजाति महासङ्घ, तनहुँकी पूर्व अध्यक्ष बसुन्धरा घर्ती बताउनुहुन्छ ।
उहाँका अनुसार दरै र कुमाल जातिका यी घरहरू संरक्षण गर्न हाल व्यास–१० दुम्सी, बन्दीपुरको धरमपानी र आँबुखैरेनीको हिलीखर्कमा नमुनाका रूपमा एक–एक वटा घर मात्रै जोगाइएको छ ।
व्यास–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले भाबी पुस्तालाई जानकारी दिनकै लागि घुमाउने घर सहितको दरै सङ्ग्रहालय निर्माण गरिएको जानकारी दिनुभयो ।
यतिबेला सबैतिर आधुनिकताको लहर चल्दा व्यास–१०, बैरेनीका भेषबहादुर दरै भने आफ्नो ६० वर्ष पुरानो पुर्ख्याैली घर संरक्षणमा जुट्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि पनि उहाँले आधुनिक महलको सट्टा मौलिक घुमाउने घरमै बस्ने निर्णय गर्नुभयो ।
भेषबहादुर भन्नुहुन्छ, “विदेशका सुविधा सम्पन्न महल भन्दा मलाई यही जलवायुमैत्री घरमा बस्दा आनन्द आउँछ।” उहाँकी ६० वर्षीया आमा सुकमाया दरै पनि सिमेन्टका घरभन्दा माटो र खरकै घर स्वास्थ्यका लागि ठिक भएको अनुभव सुनाउनुहुन्छ । यद्यपि, यस्ता घर छाउने दक्ष जनशक्ति र खरको अभावले संरक्षण कठिन हुँदै गएको सुकमायाको दुखेसो छ ।