प्रेम अधिकारी
पशुपतिनगर(इलाम), चैत १६ गते । इलामको सूर्योदय नगरपालिका-३, बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्धपार्क सञ्चालनमा आउने भएको छ ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लगानीमा निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क सञ्चालनमा आउने भएको हो । यहि चैत १८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६५ फिट अग्लो बुद्धको प्रतिमा सहित १७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्कको उद्घाटन गर्नुहुने छ ।
उक्त दिन प्राण प्रतिष्ठान सहित बुद्धको प्रतिमा र पार्क उद्घाटन गर्ने कार्यक्रम रहेको गौतम बुद्ध स्मृति प्रतिष्ठानले जनाएको छ । उक्त दिन बुर्ध धर्म गुरु खेन्छेन नाम्डोल छिरिङ रिम्पोछे सहितका धर्म गुरुबाट बिहान ६ बजेदेखि १२ बजे सम्म प्राण प्रतिष्ठान गरी उक्त स्थानको उद्घाटन गरिने प्रतिष्ठानका सदस्य सोनाम यल्मोले जानकारी दिनुभयो ।
उक्त पार्क भारतीको पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको स्थानीय पर्यटन व्यवसायी विमल देवानले जानकारी दिनुभयो ।
बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवर्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२-०७३ मा भएको थियो । क्रमागत रूपमा सञ्चालन हुँदै आएको आयोजना देश सङ्घीय संरचनामा गएपछि कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले निर्माण गरेको थियो ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट बजेट विनियोजन गर्दै आएको थियो । सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरी पार्क निर्माण गरेको सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले जानकारी दिनुभयो । उहाँले उक्त पार्क सञ्चलनमा आएपछि नेपाल , भारत र तेस्रो देशका पर्यटकको आकर्षणको केन्द्र बन्ने बताउनुभयो ।
बुद्धपार्क निर्माणमा कोशी प्रदेश सरकार, मेची पहाडी पर्यटन विकास समिति र सूर्योदय नगरपालिका गरी आठ करोड रुपियाँ खर्च भएको जनाइएको छ । उक्त पार्कसँगै स्थानीय पर्यटन व्यवसायीले समेत अन्य पर्यटकीय संरचना निर्माण गरेका छन् ।