• १६ चैत २०८२, सोमबार

सिन्धुपाल्चोकमा कफी खेती विस्तार

blog

फाइल तस्बिर

विदुर आचार्य

चौतारा, चैत १६ गते । कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । 

हाल जिल्लामा वार्षिक करिब ४० हजार किलोग्राम ड्राइ पार्चमेन्ट कफी उत्पादन भइरहेको छ, जुन नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा प्रयोग हुँदै आएको छ । जिल्लामा एक सय २५ हेक्टरभन्दा बढी जमिनमा कफी खेती भइरहेको छ भने पछिल्लो समय थप जमिनमा पनि यसको विस्तार भइरहेको छ । परम्परागत खेती छोडेर नगदेबालीतर्फ आकर्षित भएका किसानहरू कफी खेतीतर्फ बढ्दै गएका छन् । कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सयौं किसानको आर्थिक अवस्था सुधारिएको छ । 

वि.सं. २०६२-०६३ मा जिल्लाभर जम्मा ४०० किलोग्राम ड्राइ चेरी कफी उत्पादन हुने गरेकोमा हाल उत्पादन उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्षमा मात्र ३० मेट्रिक टनभन्दा बढी कफी उत्पादन भएको थियो, र चालु आर्थिक वर्षमा यो परिमाण अझै वृद्धि हुने अनुमान गरिएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो ।  

जिल्लामा उत्पादित कफीको बजार सुनिश्चित रहेको छ । ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनबीच’ कफी प्रतिकिलो ८ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा निर्यात हुँदै आएको छ । 

हरेक वर्ष ११ मेट्रिक टनभन्दा बढी कफी विदेश निर्यात हुने गरेको छ । साथै, नेपालभित्र पनि नेपाली कफीको माग बढ्दो क्रममा रहेको छ । 

गुणस्तरीय प्रशोधन प्रविधिको अभावका कारण विगतमा कफी खेतीप्रति किसानहरूको आकर्षण कम थियो । तर विश्व बजारमा कफीको बढ्दो माग, प्रविधिको विस्तार र सहकारी अवधारणाको विकाससँगै कफी खेतीको प्रवद्र्धनमा तीव्रता आएको हो । हाल जिल्लामा ६ दर्जनभन्दा बढी समूह कफी सहकारीमा आबद्ध भइसकेका छन् । 

सदावहार बिरुवा भएकाले कफीले वातावरण संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले भूक्षय रोक्नुका साथै वातावरण स्वच्छ राख्न सहयोग पु¥याउँछ । दुई दशकअघि जिल्ला कफी सहकारी सङ्घ स्थापना भएपछि सिन्धुपाल्चोकको कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेको हो । जिल्लाका १२ स्थानीय तहमध्ये अधिकांश क्षेत्रमा कफी खेती विस्तार भइसकेको छ । 

यहाँको हावापानीअनुसार उपयुक्त मानिने अराविका जातको ‘बोर्न’ प्रजातिको कफी रोपण गरिएको छ, जसले राम्रो उत्पादन दिइरहेको स्थानीय कृषक, चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर १० का लक्ष्मी प्रसाद तिमल्सिनाले बताउनुभयो । स्वदेश तथा विदेश दुवै बजारमा सिन्धुपाल्चोकको कफीको माग उच्च रहेको अध्यक्ष थापाले बताउनुभयो । रासस