• १६ चैत २०८२, सोमबार

थारू समुदायको रैथाने खाना प्रवर्धन र व्यावसायिकतामा जोड

blog

तालिममा सहभागी थारू महिलाहरू । तस्बिर : सन्तोष दहित

सन्तोष दहित

दाङ, चैत १६ गते । डिभिजन कार्यालय कोहलपुरका अधिकृत कृष्ण विष्टले रैथाने खाना तथा परम्परागत परिकारबाट पनि पर्यटन प्रवर्धन गर्न सकिने बताउँदै त्यसको व्यावसायिक र बजारीकरण गर्दै जाँदा त्यसबाट दीगो आर्थिक उपार्जन पनि गर्न सकिनेमा जोड दिनुभएको छ ।  सोही कार्यालयका खाद्य अनुसन्धान अधिकृत पदम बरालले रैथाने खानाको स्वच्छता, त्यसको स्वास्थ र प्याकेजिङका बारेमा सहभागीहरूलाई जानकारी दिनुभएको हो ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरले आर्थिक तथा प्राविधिक सहयोग दङ्गीशरण-३, चखौरास्थित थारू सांस्कृतिक संरक्षण केन्द्रमा तीन दिने रैथाने खाना प्रवर्धन तालिम सुरु भएको छ। सोमबारदेखि सुरु भएको तालिममा दाङका विशेषगरी थारू समुदायका महिलाहरूको सहभागिता छ। पछिल्लो समयमा आदिवासी थारूहरूको रैथाने खानेकुरा तथा परिकारहरू मासिँदै जान थालेपछि त्यसको संरक्षण तथा प्रवर्धनका लागि केन्द्रले उक्त तालिम आयोजना गरेको हो। यो तालिममा करिब ३५ जना थारू समुदायका महिलाहरू सहभागी छन्।

यो तालिम अवधिभरि सहभागीहरूले थारूहरूको परम्परागत खाना, विभिन्न खाले परिकार, संस्कार तथा चाडपर्व विशेषमा पकाइने लगायतका परिकारहरू बनाउने तरिका सिक्ने छन्। 

त्यस्तै खानालाई कसरी स्वस्थ राख्ने, त्यसको प्रवर्धन कसरी गर्ने भन्ने विषयमा पनि प्राविधिक तथा सैद्धान्तिक पद्धतिहरू पनि सहभागीलाई सिकाइने छ। पछिल्लो समयमा पश्चिम नेपालमा बढ्दे गइरहेको थारू परिकार तथा परम्परागत खानाको मागसँगै अहिले विभिन्न जिल्लाहरूमा थारू होमस्टे एंव थारू परिकार पाइने होटेलहरू खुल्न थालेका छन्। 

तर एकदमै रैथाने तथा परम्परागत तरिकाबाट भने परिकारहरू बन्दैनन्। यस्तो अवस्थामा व्यावसायिक क्षेत्रमा समेत थारूहरूको परम्परा र संस्कृती झल्किने खालका परिकारहरू प्रवर्धन गर्नका लागि तालिमको आयोजना गरिएको थारू सांस्कृतिक केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले बताउनुभयो।

यो अवघिमा सहभागीहरूले पश्चिम नेपालका दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायत जिल्लामा बसोवास गर्दै आएका थारू समुदायका विभिन्न पारम्परिक तथा रैथाने खानाहरू बनाउन, त्यसको स्वच्छता र दीगोपनाबारे जानकारी हासिल गर्ने छन्। त्यसका लागि विभिन्न समुदायका रैथाने खाना बनाउने प्रशिक्षकहरूसमेतको सहभागिता रहेको छ। 

बुधबार हुने समापनका अवसरमा थारू सांस्कृतिक केन्द्रद्वारा सञ्चालित थारू सांस्कृतिक संग्रहालय परिसरमै सहभागीहरूले बनाएका परिकारहरू प्रदर्शनी तथा त्यसको परीक्षणसमेत हुने छ। त्यस अवसरमा जिल्लास्थिति उच्च अधिकारी तथा अन्य व्यक्तिहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।