कायरो, चैत १६ गते । यमनका इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ र विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ । हुथी समूहले शनिबार दक्षिणी इजरायलका ‘संवेदनशील सैन्य स्थल’ लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ । यद्यपि इजरायली सेनाले यमनबाट प्रहार गरिएको एक मिसाइललाई अवरोध गरेको जनाएको छ ।
इजरायली सैन्य प्रवक्ताले देश बहुपक्षीय युद्धको सम्भावनाका लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ । हुथी इरानको ‘प्रतिरोध अक्ष’ अन्तर्गतका महत्वपूर्ण सहयोगी मानिन्छन् । यस समूहले यमनको राजधानी सना र देशको ठुलो उत्तरी क्षेत्र नियन्त्रणमा राखेको छ र सन् २०१४ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार विरुद्ध गृहयुद्ध लड्दै आएको छ ।
हालै संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि करिब एक महिनासम्म मौन रहेका हुथी अब प्रत्यक्षरूपमा युद्धमा प्रवेश गरेका हुन् । विश्लेषकका अनुसार हुथीको यस सक्रियताले अन्तर्राष्ट्रिय समुद्री ढुवानी र ऊर्जा आपूर्तिमा थप अवरोध ल्याउन सक्छ । यसले विश्व अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ ।
हुथी पक्षले अमेरिका र इजरायललाई आफ्नो क्षेत्र प्रयोग गरेर इरानमाथि आक्रमण गर्न नदिने चेतावनी दिएको छ । उनीहरूले आवश्यक परे थप कडा कदम चाल्ने सङ्केत पनि दिएका छन् । यसअघि पनि हुथीले व्यापारिक जहाज लक्षित गर्दै सयभन्दा बढी आक्रमण गरेका थिए, जसका कारण अन्तर्राष्ट्रिय ढुवानी प्रणालीमा ठुलो अवरोध आएको थियो । विशेषज्ञका अनुसार यदि क्षेत्रीय तनाव अझ बढेमा ऊर्जा बजार, ढुवानी र विश्व व्यापारमा गम्भीर असर पर्न सक्ने छ । रासस/एपी