चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १६ गते । सामुदायिक विद्यालयको पाठ्यपुस्तक ताप्लेजुङमा यसवर्ष समयमै आइपुगेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा करिव दुई साताअघि नै जिल्लामा पाठ्यपुस्तक आइपुगेको हो ।
स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत जिल्लामा सामुदायिक विद्यालयको पाठ्यपुस्तक ल्याइएको हो । समयमै विद्यालय–विद्यालयमा पाठ्यपुस्तक पु¥याउने योजनासहित पाठ्यपुस्तक ल्याउन थालिएको व्यवसायीले बताएका छन् । जिल्लामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले पाठ्यपुस्तक ल्याउने गरेको छ ।
विगतका वर्षमा झैं यसवर्ष पनि सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याइएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष केशवप्रदास भटट्टराईले बताउनुभयो ।
अध्यक्ष भट्टराईकाअनुसार सोमबार कक्षा १ देखि ५ सम्मका पाँच हजार सेट पाठ्यपुस्तक ताप्लेजुङ आइपुगेको छ । प्रत्येक कक्षाको एक हजार सेटका दरले पाठ्यपुस्तक ल्याइएको भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक पनि जिल्लामा मङ्गलबार आइपुग्ने छ । कक्षा ६ देखि माथिका पाठ्यपुस्तक पनि तत्काललाई एक हजार सेटका दरले नै आउने उहाँले बताउनुभयो ।
गत वर्षकै केही पाठ्यपुस्तक मौज्दात रहेकाले यो वर्ष सुरुमा एक हजार सेटका दरले मात्र पुस्तक ल्याइएको महासङ्घका जिल्ला अध्यक्ष भट्टराईले बताउनुभयो । सुरु ल्याएकोले नपुगेमा आवश्यकता अनुसार थप पाठ्यपुस्तक आयात गरिने उहाँको भनाइ छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याउने गरेको छ ।
महासङ्घबाहेक जिल्लाका अन्य केही पुस्तक व्यवसायीले पनि सामुदायिक विद्यालयको पाठ्यपुस्तक ल्याएर बिक्री गर्ने गरेका छन् । त्यस्तै यहाँका केही विद्यालयले जिल्ला बाहिरका पुस्तक पसल तथा बिक्री केन्द्रबाट समेत पाठ्यपुस्तक ल्याउने गरेका पाइएको छ ।
ताप्लेजुङमा हाल ३३० वटा सामुदायिक विद्यालय रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार कुल विद्यालय सङ्ख्यामध्ये ६२ वटा माध्यमिक तहका छन् ।
बाँकी कक्षा १–३, कक्षा १–५ र कक्षा १–८ सञ्चालित आधारभूत तहका विद्यालय रहेका इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो । यता सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने पछिल्लो समय निरन्तर घट्दै गएको पाइएको छ ।