प्रतीक इच्छुक शर्मा
सल्यान, चैत १६ गते। सल्यानको कुमाख गाउँपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गरेको छ। वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो विकासलाई टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाले यस्तो कदम चालेको जनाएको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७८ माघ १७ गतेको निर्णयअनुसार “प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८” कार्यान्वयनमा आइसकेको छ। सोही कार्ययोजनाको आधारमा चालु आर्थिक वर्ष २०८२-०८३ को बजेट वक्तव्यको बुँदा नं. ११८ मार्फत २०८२ मंसिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाइएको हो।
यसैगरी, सुशासन मार्गचित्र, २०८२ ले पनि प्रदूषण नियन्त्रण, वातावरणीय सन्तुलन तथा सुशासन प्रवद्र्धनका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलामा प्रतिबन्धको स्पष्ट व्यवस्था गरेको छ। सो नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
गाउँपालिकाका अनुसार प्लास्टिक झोलाको अनियन्त्रित प्रयोगले वातावरणमा गम्भीर असर पारिरहेको छ। यस्ता झोलाले माटोको उर्वराशक्ति घटाउने, पानीका स्रोत प्रदूषित गर्ने तथा पशुपन्छी र अन्य जीवजन्तुको जीवनमा नकारात्मक प्रभाव पार्ने गरेका छन्। दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा समेत असर पुग्ने भएकाले यसको नियन्त्रण आवश्यक भएको जनाइएको छ।
गाउँपालिकाका वन, वातावरण तथा विपद् शाखा प्रमुख जीवन शर्माले वातावरण संरक्षणलाई स्थानीय सरकारको प्रमुख जिम्मेवारीका रूपमा लिइएको बताउनुभयो। उहाँले भन्नुभयो, “४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग रोक्नु अहिलेको आवश्यकता हो। यसका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य छ।”
उहाँका अनुसार उद्योगी, व्यवसायी तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्ने, वैकल्पिक सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने तथा नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने नीति अपनाइएको छ। बजार अनुगमन नियमित गरिने र नियम विपरीत झोला प्रयोग वा बिक्री गर्नेहरूलाई चेतावनीसहित जरिवाना गरिने तयारी रहेको छ।
गाउँपालिकाले प्लास्टिक झोलाको सट्टा कपडा, जुट तथा कागजबाट बनेका वातावरणमैत्री झोलाको प्रयोग गर्न आग्रह गरेको छ। साथै, यस्ता झोलाको स्थानीय उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ। यस अभियानमा स्थानीयवासी, विद्यालय, व्यवसायी तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरिएको छ।
गाउँपालिकाले वातावरण संरक्षणलाई दीर्घकालीन विकाससँग जोड्दै प्लास्टिक न्यूनीकरण अभियानलाई निरन्तरता दिने र स्वच्छ, स्वस्थ तथा दिगो कुमाख निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।