• १६ चैत २०८२, सोमबार

घले हार्भेष्टिङ अष्ट्रेलियाले जित्यो कालीका कप उपाधि

blog

घले हार्भेष्टिङ अष्ट्रेलियाको टोली । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत १६ गते । चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालीका कप’ भलिबलमा पुरुषतर्फको उपाधि घले हार्भेष्टिङ अष्ट्रेलियाले जितेको छ । 

सोमबार कालिका भगवती मन्दिर परिसरमा सम्पन्न फाइनल खेलमा सिद्वार्थ चश्मा घरलाई ३–२ को सेटमा पराजित गर्दै घलेले उपाधि जितेको हो । 

पहिलो सेटको खेल २६–२४ ले जितेर लगातार दुई सेट खेल गुमाएर दबाबमा परेको घले हार्भेष्टिङ अष्ट्रेलियाले पुनरागमन गर्दै सिद्वार्थ चश्मा घरलाई पराजित गर्दै उपाधि जितेको हो । घले हार्भेष्टिङले सिद्वार्थ चश्मा घरमाथि २६–२४, २३–२५, १९–२५, २५–१६ र १५–८ ले जित निकालेको हो । 

प्रतियोगिताको विजेता टोली घले हार्भेष्टिङले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता सिद्वार्थ चश्मा घरले २ लाख रुपियाँमा चित्त बुझाएको छ । 

प्रतियोगितामा घले हार्भेस्टिङका पहल गहलराज सर्वाेत्कृष्ट खेलाडि घोषित हुनुभएको छ । उहाँलाई  पाँच हजार रुपियाँ र ट्रफी प्रदान गरिएको छ ।

यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडिको पुरस्कार सिद्वार्थ चश्मा घरका सन्तोष विकले प्राप्त गर्दा घले हार्भेष्टिङका बलराम गुरुङले उत्कृष्ट सेटर, विष्णु बस्नेतले उत्कृष्ट सर्भर, सिद्वार्थका राजन दर्लामीले उत्कृष्ट लिबेरो (डिफेन्डर), हिमाल सुनारीले उत्कृष्ट ब्लकरको पुरस्कार जित्नुभएको छ । 

सिद्वार्थका रेशम विक उदयीमान खेलाडि घोषित हुनुभयो । उत्कृष्टको कोचको पुरस्कार घले हार्भेष्टिङका मुकेश सेन्चुरीले जित्नुभयो । उत्कृष्ट खेलाडिलाई जनही ५/५ हजारका दरले  पुरस्कार र ट्रफी प्रदान गरिएको खेल संयोजक सचिन खड्काले जानकारी दिनुभयो । 

यसअघि सम्पन्न महिलातर्फको उपाधि भने इलाइट भलिबल एकेडेमी पोखराले जितेको छ । घरेलु टोली शान्त माविलाई २५–२३, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको इलाइटले नगद १ लाख रुपियाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता शान्ता माविले ५० हजारमा चित्त बुझाएको छ । 

बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजना र जिल्ला भलिबल संघको आयोजनामा कालीका कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।