• १६ चैत २०८२, सोमबार

जासुसी आरोपमा रुसी निष्कासन

blog

मस्को, चैत १६ गते । रुस र बेलायतबिच बढ्दो तनावका बिच मस्कोले बेलायती दूतावासका एक कूटनीतिज्ञलाई जासुसीमा संलग्न भएको आरोप लगाउँदै देश छोड्न आदेश दिएको छ । पछिल्ला वर्षदेखि जारी आपसी अविश्वास र प्रतिशोधात्मक कूटनीतिक कदमबिच यो घटना नयाँ तनावको सङ्केतका रूपमा देखिएको छ ।

रुसी राज्य सञ्चार माध्यमका अनुसार सुरक्षा निकाय एफएसबीले ती कूटनीतिज्ञलाई ‘राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने गुप्तचर गतिविधिमा संलग्न’ रहेको आरोप लगाएको छ । दूतावास सचिवका रूपमा कार्यरत अल्बर्टस गेरहार्डस जेन्से भ्यान रेन्सबर्गलाई मान्यता खारेज गर्दै दुई साताभित्र देश छोड्न निर्देशन दिइएको जनाइएको छ ।

यससँगै रुसी विदेश मन्त्रालयले बेलायती कूटनीतिक प्रतिनिधिलाई बोलाएर औपचारिक जानकारी गराएको छ । बेलायती दूतावासले भने यसबारे तत्काल कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । मस्को र लन्डनबिच कूटनीतिज्ञ निष्कासनको यस्तो शृङ्खला नयाँ होइन । पछिल्लो दशकमा दुवै पक्षले एकअर्कामाथि जासुसीको आरोप लगाउँदै बारम्बार दूतावास कर्मचारी निष्कासन गर्दै आएका छन् । 

प्रायः यस्ता कदम ‘टिट-फर-ट्याट’ शैलीमा जवाफी कारबाहीका रूपमा दोहोरिने गरेका छन् । दुई देशबिचको सम्बन्ध विशेषगरी युक्रेन युद्धपछि थप चिसिएको छ । तर जासुसीसँग सम्बन्धित विवाद भने यसअघि पनि पटक-पटक सतहमा आएको थियो । सन् २००६ मा पूर्व रुसी सुरक्षा अधिकारी अलेक्जान्डर लिटभिनेन्कोको लन्डनमा पोलोनियम विष प्रयोग गरी हत्या गरिएको घटनाले ठूलो विवाद निम्त्याएको थियो । 

बेलायती अनुसन्धानकर्ताले त्यसमा रुसी गुप्तचर निकायको संलग्नता रहेको निष्कर्ष निकालेका थिए । त्यसै गरी, सन् २०१८ मा सर्गेइ स्क्रिपल र उहाँकी छोरीलाई बेलायतको सालिसबरी सहरमा नोभिचोक नर्भ एजेन्ट प्रयोग गरी विष दिइएको घटनाले अन्तर्राष्ट्रिय स्तरमै ठूलो प्रतिक्रिया उत्पन्न गरेको थियो । उक्त घटनापछि धेरै पश्चिमी देशले ठूलो सङ्ख्यामा रुसी कूटनीतिज्ञ निष्कासन गरेका थिए ।

हालको घटनाले फेरि एक पटक दुई देशबिचको सम्बन्ध संवेदनशील मोडमा पुगेको सङ्केत दिएको छ । कूटनीतिक संवाद कमजोर बन्दै जाँदा जासुसी आरोप र निष्कासनको चक्र अझै जारी रहने सम्भावना देखिएको छ । रासस/एएफपी