• १६ चैत २०८२, सोमबार

महासङ्घको स्थापना दिवसमा तनहुँका छ पत्रकार पुरस्कृत

blog

सम्मानित भएका पत्रकार । तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १६ गते ।नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले जिल्लाका छ जना पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

 सोमबार दमौलीमा आयोजित एक विशेष समारोहका बिच उनीहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट उज्ज्वल पौडेल, भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट नारायण खड्का र पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट श्रीहरि पौडेल रहनुभएको छ ।

 यसै गरी हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट राजकुमार श्रेष्ठ (बिबी), चिरञ्जीवी–हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट मिला दरै र टीकानिधि ढुङ्गाना–व्यास पराशर पत्रकारिता पुरस्कारबाट ओमकार आचार्य सम्मानित हुनुभएको छ । 

सुरज गुरुङ स्मृति पुरस्कारको राशि पाँच हजार रुपियाँ रहेको छ भने अन्य सबै पुरस्कारको राशि १० हजार रुपियाँ रहेको महासङ्घले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै समाजको ऐनाका रूपमा रहेका पत्रकारहरूले सत्य र तथ्यमा आधारित रहेर कलम चलाउनुपर्ने बताउनुभयो । 

उहाँले स्थानीय सरकारका राम्रा कामको प्रोत्साहन र कमजोरीको रचनात्मक आलोचना गर्दै समृद्ध समाज निर्माणमा सञ्चार जगतले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

 त्यस्तै प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, महासङ्घका शाखा अध्यक्ष डिपी अधिकारी लगायतले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन यस्ता सम्मानले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।