काठमाडौँ, चैत १६ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेनाले लाओसलाई हराउने लक्ष्यमा साथ मैदान उत्रने बताउनुभएको छ ।
एएफसी एसिया कप छनोट अन्तर्गत मङ्गलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्याच कन्फिरेन्समा एरेनाले भन्नुभयो, ‘‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौँ । मेरो लक्ष्य युवा खेलाडीलाई निर्खानु हो ।
त्यसैले पाँच खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु । लाओस राम्रो टोली हो । तर, हामी भोलिको खेलका लागि तयार छौँ। जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौँ ।’’
ऐरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिनुभएको छ । यस्तचै नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख लक्ष्य हुने बताउनुभयो ।
‘‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुने छ । राम्रो तयारी भएको छ । हामी कोचको रणनिति अनुसार नै प्रर्दशन गर्ने छौँ ।’’
नेपाल र लाओसबिचको खेल स्थानिय समयअनुसार साँझ ७:०० बजे सुरु हुने छ । प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन् । दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अङ्क बनाएका छन् ।
हालसम्म नेपाल र लाओसविरुद्ध ६ खेल भएका छन् । जसमा नेपालले चार र लाओसले एक खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।