काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईँले अध्यक्ष ओलीको अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले उहाँको स्वास्थ्य अवस्थाको जाँच गरिरहेको छ ।
शनिबार बिहान सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई पक्राउ गरी प्रहरीले प्रहरी परिसर भद्रकाली पुर्याएको थियो । त्यहाँ केही समय राखेर उहाँलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
नयाँ सरकार बनेलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएको हो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
यसैगरी, अध्यक्ष ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको बैठक बस्ने छ । ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने सचिव महेश बस्नेतको भनाइ छ ।

