• १४ चैत २०८२, शनिबार

‘समाजका कुप्रथा हटाउने कानुन बनाउन सक्रिय रहने छु’

blog

ललित बसेल

सुर्खेत, चैत १४ गते । पूर्व कोशीबाट उदाएको श्रम संस्कृति पार्टीले पश्चिम नेपालको कर्णाली प्रदेशबाट सुर्खेतकी राधिका रम्तेललालाई समानुपातिक प्रणालीबाट संसद् बनाएको छ । उहाँ संसद् बनेको पहिलो खबर पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ राईले खबर गरेपछि मात्र आफूले जानकारी पाएको बताउनुहुन्छ । उहाँ अबको पाँचबर्से संसद्को यात्रा विपन्न, दलित, पीडित तथा पिछडिएका बासिन्दाको आवाजलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । 

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५, चतुरेगाउँमा २०३९ माघ १९ गते जन्मनुभएकी राधिका सानैदेखि समाजसेवाप्रति अग्रसर हुनुहुन्थ्यो । गाउँको विपन्न परिवार र कमजोर आर्थिक अवस्थाका कारण उहाँले बाल्यकालदेखि नै घाँस दाउरा बोक्नु परेको थियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उहाँले आफ्नो अध्ययनलाई धेरै बढाउन नसकेको बताउनुहुन्छ । उहाँको औपचारिक शिक्षा एसएलसीसम्म छ । उहाँसँग गाउँघरमा भोग्नु परेको जातीय विभेद, असमानताको तितो अनुभव छ । उहाँ भन्नुहुन्छ, “धारामा पानी लिन जाँदा होस्, मन्दिरमा पूजा गर्न जाँदा होस् वा गाउँमा सामाजिक क्रियाकलापमा हामी अलग्गै बस्नु पथ्र्यो ।”

समुदायमा महिलामाथि हुने हिंसालाई उहाँले नजिकबाट नियाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “समाजमा महिला, त्यसमा पनि दलित महिलाको अवस्था अझ नाजुक छ । अब संसद्मा हिंसामा परेका महिला, दलित महिलालाई न्यायमा सहज पहुँच पु¥याउने मेरो भूमिका हुने छ । सङ्घीय संसद् बनेपछि जिम्मेवारी बढेको अनुभव भएको बताउँदै उहाँले त्यो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने दृढता पनि व्यक्त गर्नुभयो । दैलेखमा विवाह भएपछि उहाँले केही सामाजिक सङ्घ संस्थासँग पनि जोडिनुभयो । विशेष गरी महिला सशक्तीकरणको क्षेत्रमा उहाँको अनुभव अझ राम्रो छ । उहाँ महिला र दलित महिलालाई आर्थिक, सामजिक र मानसिक रूपमा सशक्तीकरण नगरेसम्म विभेद, हिंसा भोगिरहनुपर्ने उल्लेख गर्दै संसद्मा महिला र अझ दलित महिलालाई सशक्तीकरण गराउन म सक्दो प्रयास गर्ने छु ।” 

उहाँका अनुसार कर्णाली प्रदेशमा हानिकारक प्रथा अलि बढी छ । जातीय विभेद तथा छुवाछुत, बालविवाह, बहुविवाह, छाउपडी प्रथा जस्ता हानिकारक प्रथा छन् । यी प्रथामा विशेष गरी महिला र दलित महिला अझ बढी पीडित बनेका छन् । उनीहरू पीडित बन्दा आफूलाई नराम्रो लाग्ने गरेको बताउँदै उहाँले अब सङ्घीय संसद्मा त्यस्ता कुप्रथा हटाउने नीति र कानुन बनाउने र समाजमा समानता कायम गराउने कदमलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यसका साथै यहाँ स्वास्थ्य, शिक्षा, रोजगारी, सडक पूर्वाधारलगायत आधारभूत विकासमा पनि कर्णाली पछाडि छ । उहाँले विषेश गरी यहाँका सीमान्तकृत वर्गका लागि संसद्सम्म आवाज उठाउने अठोट लिनुभएको छ । 

आफूलाई कर्णाली प्रदेशबाट छनोट गरी सङ्घीय संसद् बनाउने पार्टी श्रम संस्कृति पार्टीप्रति उहाँले आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुरुमा समानुपातिक सूचीमा मेरो नाम राख्दा खासै विश्वास लागेको थिएन । पछि पार्टीले प्राप्त मतका आधारबाट आफूलाई कर्णालीबाट छनोट गरेर संसद् बनाउने निर्णय ग¥यो । त्यसका लागि पार्टीप्रति आभार व्यक्त गर्दछु ।” उहाँ राजनीतिबारे आफूलाई खासै जानकारी नभए पनि श्रम गरेर चर्चामा आएको पार्टी भएकोले श्रम संस्कृति पार्टीप्रति झुकाव बढ्दै गएको बताउनुभयो । पार्टीले कर्णाली प्रदेशबाट गत फागुन २१ गतेको निर्वाचनमा चार हजार ६५७ मत प्राप्त गरेको थियो । सङ्घीय संसद् बने पनि सीमान्तकृत वर्ग, दलित महिला, पिछडिएको ठाउँको भएकाले आफ्नो धरातल कहिल्यै नबिर्सने उहाँको भनाइ छ । पहिलो पटक सङ्घीय संसद्को यात्रामा प्रवेश गर्नुभएकी राधिका आफूले राजनीतिको धेरै कुरा सिक्दै काम गर्ने बताउनुभयो ।