काठमाडौँ, कात्तिक १२ गते । जेनजी आन्दोलनका क्रममा घाइते भएका १० जनाको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको पटक पटक शल्यक्रिया भइसकेको छ ।
घाइतेको दुखाइ सहन सक्ने अवस्था छैन । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेमध्ये तीन जनाको दुखाइ सहनै सकस भएको छ । अत्यधिक दुखाइका कारणले तीन जना घाइतेलाई एनेस्थेसिया दिएर आराम गराउनु परेको छ । ट्रमा सेन्टरमा उपचारका लागि आएका घाइते १९२ जनामध्ये हाल चार जनाको मात्र उपचार भइरहेको छ । घाइते मुकेश अवस्थीको घुँडामुनिको भाग पूरै काटिएको छ । यस्तै विराटनगरकी लिजा अधिकारीको पाखुराको भित्री भाग पूरै टुक्रा टुक्रा भएको छ । अर्का घाइते प्रकाश बोहोराको खुट्टाको हड्डी टुक्रा भएको छ । घाइते अभिषेक श्रेष्ठको खुट्टामा गोली लागेर शल्यक्रिया गरिएको छ । घाइतेको पटक पटक शल्यक्रिया गरिएको छ । शल्यक्रिया गरे पनि सङ्क्रमण हुने, पटक पटकको शल्यक्रियाले गर्दा अत्यधिक दुखाइ हुने समस्याले उहाँहरूलाई एनेस्थेसिया दिएर दुखाइ कम गरिएको हो ।
दुखाइमा एनेस्थेसिया
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले घाइतेलाई अत्यधिक दुखाइ भएका कारण एनेस्थेसिया दिएर दुखाइ कम गर्नु परेको बताउनुभयो । “घाइतेको अवस्था सुधारोन्मुख भए पनि सङ्क्रमण तथा पटक पटकको शल्यक्रियाले गर्दा अत्यधिक दुखाइ सहेर बस्नु परेको छ,” अस्पतालका प्रमुख डा. रिजालले भन्नुभयो, “उहाँहरूलाई कम्तीमा एक महिनासम्म अस्पतालमै भर्ना गरेर राख्नुपर्ने अवस्था छ ।” उहाँले घाइतेको उपचारमा कुनै कमी हुन नदिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “औषधी, शल्यक्रियादेखि इम्प्लान्टसम्म निःशुल्क उपलब्ध गराएका छौँ ।”
औषधी किन्नु परेको गुनासोमा सत्यता नभएको डा. रिजालको तर्क छ । उहाँले हालसम्म घाइतेको उपचारमा अस्पतालका तर्फबाट ७० लाख अनुमानित खर्च भइसकेको जानकारी दिनुभयो । घाइतेहरू फलोअपमा आउने, पुनः शल्यक्रिया गर्नुपर्ने कारणले उपचारको रकम बढ्न सक्ने उहाँको भनाइ छ । उहाँले इम्प्लान्ट अस्पताल र सप्लायर्सका तर्फबाट निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका घाइतेमध्ये १० जनालाई भर्ना गरेर उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दिनुभएको जानकारी अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार, त्रिवि शिक्षण अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेजमा दुई र नोबेल मेडिकल कलेज एक गरी १० जनाको उपचार भइरहेको छ ।
उपचार खर्च एक अर्ब
प्रवक्ता डा. बुढाथोकीले हालसम्म जेनजी आन्दोलनका घाइतेको उपचारमा अनुमानित एक अर्ब रुपियाँ खर्च भइसकेको जानकारी दिनुभयो । आन्दोलनका क्रममा घाइते भएकाले एक रुपियाँ पनि खर्च नगर्न आग्रह गर्दै सुरुमा पैसा तिरेको भए पनि औषधीको बिल लिएर आउनेलाई अस्पतालले पैसा फिर्ता दिइरहेको उहाँले बताउनुभयो । निजी वा सरकारी जुनसुकै अस्पतालबाट यदि पैसा तिरेर औषधी लिएको छ भने त्यसको बिल अस्पतालमा पेस गर्न अनुरोध गर्दै उहाँले अस्पतालले तत्काल नगद भर्पाई दिने जानकारी गराउनुभयो । जेनजी आन्दोलनका क्रममा देशभर कुल दुई हजार ५७१ जना घाइते भएका थिए । तीमध्ये ५० जनाको स्वास्थ्य संस्थामा वा उपचारका क्रममा मृत्यु भएको थियो । बाँकी दुई हजार ५२१ मध्ये १० जना अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल तीन सयभन्दा बढीको शल्यक्रिया भएको थियो ।