रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १२ गते । कारागार कार्यालय गुल्मीमा २५ जना कैदीबन्दी राख्न मिल्ने क्षमता भएता पनि हाल १०८ जना कैदीबन्दी रहेका छन् । विसं. २०२४ सालमा स्थापना भएको तम्घासस्थित यस कारागारको क्षमता २० जना पुरुष र पाँच जना महिला २५ जना कैदीबन्दी राख्न मिल्ने रहेको गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
जीर्ण भवन रहेको यस कारागारमा १०२ जना पुरुष, पाँच जना महिला र एक एक जना आश्रित छन् । जेलर पन्थीका अनुसार यस कारागारमा ७१ जना कैदी र ३१ जना थुनुवा पुरुष छन् चार जना कैदी र एक जना थुनुवा महिला छन् । एक जना आश्रित रहेका छन् । यहाँ कर्तव्य ज्यान १८, जबरजस्ती करणी ५९, सवारी ज्यान तीन, चोरी ११, बहुविवाह पाँच, अभद्र व्यवहार एक, हातहतियार खरखजाना एक, ज्यान मार्ने उद्योग तीन, आपराधिक उपद्रव (आगोलागी) एक, अप्राकृतिक मैथुन एक, भष्ट्राचार दुई, कुटपिट एक, ज्यानसम्बन्धी कसुर दुई जना कैदीबन्दी रहेका छन् ।
यहाँ कदैबन्दी बढी भएको हुँदा कैदीबन्दीको आवासमा समस्या भएको उहाँले बताउनुभयो । “तारबार निर्माण गर्न जरुरी रहेको छ । सुरक्षाकर्मीको आवास गृह जीर्ण हुनुका साथै कर्मचारीलाई आवास गृहको अभाव रहेको छ ।,’’ उहाँले भन्नुभयो ।
विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका व्यक्तिलाई सिप सिकाएर आय–आर्जनमा जोडिएको छ । सबै कैदीबन्दी आफ्नो कामा व्यस्त देखिन्छन् । विगत १९ वर्षदेखि बाँसबाट बनाइने मुढा बुन्ने गरिएको यस कारागारमा हाल फर्निचरसँगै ढाकासम्बन्धी कपडा बुन्ने उद्योग सञ्चालनमा ल्याइएको छ । फर्निचरतर्फ ५० जना, मुढा निर्माणतर्फ ३५ जना, ढाकाका सल बुन्ने १५ जना, उनीको स्वीटर बुन्ने ६ जना रहेका छन् ।
कारगारलाई औद्योगिक ग्रामका रुपमा देख्न सकिन्छ । कैदीबन्दीको सिपलाई प्रयोग गरी उनीहरुलाई श्रमसँग जोडिएता पनि तालिम र काम गर्ने स्थानको अभाव रहेको जेलर पन्थीले बताउनुभयो । निर्माण गरिएका सामग्रीहरुो बजार व्यवस्थापनमा समेत कठिनाइ दखिएको छ । लेख्न, पढ्न चाहना भएका कैदीबन्दीका लागि अध्ययनसँगै सोचाइमा परिवर्तन ल्याउनका लागि पुस्तकालय समेत स्थापना गरिएको छ । नयाँ पुस्तकको अभाव रहेको उहाँले बताउनुभयो ।
खलकुदमा पनि यहाँ कैदीबन्दीले रुचि देखाउने गरेका छन्। भलिबल, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड, लुँडो लगायतका खेलमा यहाँका कैदीबन्दीहरुले रुचि देखाउछन् । त्यस्तै, पछिल्लो समय यहाँका कैदीबन्दीहरु तरकारी खेतीमा पनि लागेका छन् । यहाँ मौसम अनुसारका तरकारीका बिरुवा, खुर्सानी, भान्टा, स्कुस, फर्सी, घिरौंला, भिन्डी, काउली लगायतका तरकारी खेती गरिएको जेलर पन्थीले बताउनुभयो । जीर्ण रहेको कारगारको भित्री तथा बाहिरी भाग र कोठाहरुमा रङरोगन, कार्पेटिङ तथा ढलान गरी सहज बनाइएको छ । कारागारमा पुरुष तथा महिला कैदीबन्दीको सुताइलाई व्यवस्थित गर्न डबल टेकर खाटको व्यवस्था गरिएको छ ।