फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक ११ गते । कास्कीका प्रहरी इकाइहरुमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा कास्की प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी कार्यालयहरुमा तोडफोड गर्ने, आगजनी गर्ने तथा प्रहरीका हातहतियार लुटपाट गरी आतङ्क फैलाउन संलग्न रहेको प्रहरीको दाबी छ ।
मङ्गलबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले घटनामा संलग्नताको आरोपमा १० जनालाई नियन्त्रणमा लिइएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय कास्कीमा हातहतियार लुटपाट गरी हिँड्ने तथा आगोमा जलाउने कार्यमा संलग्न चारजना, वडा प्रहरी कार्यालय बगर कास्कीमा हतियारको थुप्रो लगाई आगो लगाउने एकजना र प्रहरी चौकी नयाँपुलमा आगलागी गर्ने पाँचजना गरी १० जना पक्राउ परेको जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रवसम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले उल्लेख गर्नुभयो । यसरी पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी–४ घर भई हाल पोखरा–४ मानव बस्ने वर्ष २४ को राजेश मक्रान्ती, पोखरा–४ बस्ने वर्ष ५४ को नारायण साई, पोखरा–११ बस्ने वर्ष २२ का अरुण विक, पोखरा–१, कसेरी बस्ने वर्ष ४१ का रुपेश मगर छन् ।
सोही आरोपमा कास्की प्रहरीले पोखरा–१ बस्ने वर्ष ४३ का दिपु साई, अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल बस्ने वर्ष ४७ का लङबहादुर नेपाली, सोही पालिकाको वडा नम्बर ५ बस्ने वर्ष १९ का अरविन विक, वर्ष ६२ का थमबहादुर सार्की र ४२ वर्षीय पूर्णबहादुर नेपाली छन् । यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नं. ६ हाइजुङ बस्ने वर्ष २२ का ग्रिस क्षेत्रीलाई पनि प्रहरीले सोही आरोपमा नियन्त्रणमा लिएको छ ।