• १२ कात्तिक २०८२, बुधबार

जापान र अमेरिकाबिच दुर्लभ खनिज सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १२ गते । जापानका नयाँ प्रधानमन्त्री साने ताकाइचीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबिचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ । जापानका पहिलो महिला प्रधानमन्त्री सानेले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ ।

एसिया भ्रमणको दोस्रो चरणमा जापान पुग्नुभएका राष्ट्रपति ट्रम्पले सानेसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो । “हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो,” ट्रम्पले सानेलाई सम्बोधन गर्दै भन्नुभयो ।

सानेले थाइल्यान्ड–कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै प्रशंसा गर्नुभयो । उहाँले जापान–अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता व्यक्त गर्नुभयो ।

दुवै नेताले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो । यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्पले घोषणा गर्नुभएको सय प्रतिशत करको प्रतिक्रियामा आएको हो । मलेसियाको भ्रमणपछि र चीनका राष्ट्रपति सी चिनफिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो पुग्नुभएका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने आशा जगाएको छ ।

टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार सानेले रक्षा बजेट कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पु¥याउने लक्ष्य अगाडि सारेर अमेरिकाको दबाब घटाउने प्रयास गर्नुभएको छ । जापानमा करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् र वासिङ्टनले टोकियोलाई अझ बढी खर्च गर्न आग्रह गरेको छ । अब ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार सम्झौता हो । उहाँले बिहीबार दक्षिण कोरियामा राष्ट्रपति सीसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गर्नुभएको छ ।