• १२ कात्तिक २०८२, बुधबार

स्याङ्जामा दुई हजारभन्दा बढि मतदाता थपिए

blog

स्याङ्जा सदरमुकाममा भएको निर्वाचनसम्बन्धी छलफल कार्यक्रम । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) कात्तिक १२ गते ।
स्याङ्जा जिल्लामा दुई हजारभन्दा बढि मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जामा मतदाता नामावली अध्यावधिक गर्ने काम चलिरहेको हो ।

सरकारले अध्यादेश ल्याएसँगै दैनिक ४० देखि ५० सम्म फोटो खिचाउनका लागि कार्यालयमा आउने गरेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । कात्तिक मसान्तसम्म यो काम निरन्तर हुने जानकारी गराउनुभयो ।

अघिल्लो चुनावको तुलनामा यो वर्षमा भने मतदाता सङ्ख्या घटेको छ । अहिले जिल्लाको मतदाता सङ्ख्या दुई लाख ४१ हजार ६९९ रहेका छन् । यसअघि २०७९ को चुनावमा दुई लाख ४४ हजार ८९ जना रहेका थिए ।

यो अवधीमा चार हजार ४७ जनालाई मतदाताको सूचीबाट हटाइएको थापाको भनाइ छ । उहाँका अनुसार मृत्यु भएका तीन हजार चार सय ४६ जना, दोहोर नामावली भएका पाँच सय ९० जना र नागरिकता त्याग गरेका ११ जना रहेका छन् ।

अघिल्लो चुनावको तुलनामा दुई हजार तीन सय ९० ले जिल्लाको मतदाता सङ्ख्या घटेको थापाले जानकारी दिनुभयो ।

यसैबिच, आगामी फागुन २१ को चुनावलाई मध्यनजर गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सिफारिस समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले तोकिएको समयमा शान्तपूर्ण रुपमा चुनाव सम्पन्न गर्न सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान परिस्थितिमा चुनावले मात्रै निकास दिने अवस्था छ, त्यसैले सबैले सहकार्य गरौं ।”

मतदाता नामावलीका लागि फोटोखिच्न जिल्ला निर्वाचन कार्यालयमै जानुपर्ने प्रवाधान रहेको छ । देशका जुनसकै जिल्ला निर्वाचन कार्यालयमा गए पनि फोटो खिच्न पाइने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाताका लागि आफ्नै जिल्लाको निर्वाचन कार्यालयमा पुग्नु पर्दैन जिल्लामा गए पनि सेवा लिन पाइन्छ ।”

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावली दर्ताका लागि आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भई आएमा विवाहको प्रमाणपत्र, बाहिरी जिल्लाकालाई समेतका कागजात आवश्यक पर्ने कार्यालयले जनाएको छ ।