• १० मंसिर २०८१, सोमबार

लोकदोहोरीको तरङ्ग

blog

काठमाडौँ, माघ ८ गते । कुनै बेला ‘खोला पारि निरमाया’, ‘पानको पात’ जस्ता लोकदोहोरीले नेपाली साङ्गीतिक फाँटमा हलचल नै ल्याएको थियो । 

त्यतिखेर बमबहादुर कार्की र उहाँका सहयोगीले गाउँले दोहोरीलाई सहर भित्र्याउने काम गर्नुभएको थियो । त्यसलगत्तै आएको प्रेमराजा महतको ‘सिमसिमे पानीमा’ ले लोकदोहोरीमा अर्को तरङ्ग ल्यायो । गाउँबस्तीमा सीमित लोक तथा लोकदोहोरीका भाका, लयलाई सहर बजारमार्फत देशभर फैलाउने काममा त्यसअघिका कुमार बस्नेत, पाण्डव सुनुवार, राम थापा, लोकबहादुर क्षेत्री, सावित्री शाह, आदिको उल्लेख्य भूमिका थियो । त्यसैले अहिले पनि सङ्गीतले मान्छेको जीवनशैली परिवर्तन गर्न सक्छ भन्ने चलन हटेको छैन । 

लोकगीत, दोहोरी, पप–रक या आधुनिक, कुनै पनि सङ्गीत अनुसार त्यसको दर्शक र श्रोता फरक हुन्छन् । एउटा जमाना थियो जहाँ सहरका रेस्टुराँ या दोहोरीले धेरैको जीवनशैली बदलेको थियो तर आज त्यो समय परिवर्तन भएको छ । अहिले दोहोरी गीत रेस्टुराँहरूमा मात्र सीमित नभएर सबैतिर फैलिएको छ । विदेशमा होस् या स्वदेशमा दोहोरी गीत मन नपराउने कमै मात्रामा पाइन्छन् । 

अहिले दैनिक कामको थकान मेट्ने उपयुक्त माध्यम दोहोरी बन्दै गएको गायिका राधिका हमाल बताउनुहुन्छ । दोहोरी सङ्गीत अब नेपाली सङ्गीतप्रेमीका लागि बेग्लै शैलीको मनोरञ्जनको माध्यम बनिसकेको उहाँको भनाइ छ । आधुनिक बन्दै गएको दोहोरी गीतको विकास र विस्तारले एकातिर नेपालको मौलिक र ठेट सङ्गीतलाई परिमार्जित गरेर स्थापित गरेको छ भने अर्कोतिर केही हदसम्म पश्चिमा गीत, सङ्गीतको प्रभावलाई छेक्न महत्वपूर्ण भूमिका खेलेको छ । अहिले पनि दोहोरी गीतका पारखीको सङ्ख्या नघटेको गायिका हमाल बताउनुहुन्छ । दोहोरीको यो विकास कलाकार, सङ्गीतकार र लोकसङ्गीतका पारखीका लागि खुसीको खबर पनि हो । 

नेपाली समाजमा लोकगीतको इतिहास लामो छ । प्रचलित लोकगीतका भाकाको उत्तिकै महत्व पनि छ । कुनै बेला गाउँघरमा घाँसे गीत, बालुन भजन, कर्खा, सवाई जस्ता लोकभाका जताततै गुञ्जन्थे तर दोहोरीको विकाससँगै यस्ता भाका एकदमै कम सुनिन थालेका छन् । दोहोरीमा भाका सङ्कलन भन्दा पनि गायक/गायिकाको प्रस्तुति कलात्मक हुन्छ । गीतमाथि राखिएको प्रश्नको जवाफ दिनु दोहोरीको विशेषता हो । 

आफ्नो मनको कुरा गीतको भाकामा भन्नु र त्यसको जवाफ पनि गीतकै भाकामा दिनु दोहोरीको विशेषता नै हो । अहिले दोहोरीमा समेटिने विषयले व्यापकता पाएको छ । यसमा राजनीतिक, सामाजिक संस्कार र शान्तिको कामनालगायतका विषय पनि झल्किन थालेका छन् । 

दोहोरीले लोकसंस्कृतिको संरक्षणका साथै व्यावसायिकमा लागेकालाई सम्मानजनक बाँच्ने अवसर दिएको गायक डिआर सुजन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “संस्कृति जति विस्तार भयो उति नै राम्रो हो । यसले कलाकारलाई व्यवसायीकरण पनि बनाउन मद्दत गरेको छ ।” 

उहाँका भनाइमा बजारमा अहिले पश्चिमा र काँठे दोहोरीको दबदबा छ । व्यापारिक सम्भावनासँगै दोहोरीमा नयाँ नयाँ प्रयोग हुन थालेको जुन हामी कलाकारका लागि धेरै राम्रो कुरा हो । 

यसो भन्दैमा दोहोरीमा सबै राम्रा कुरा मात्र हुन्छन् भन्ने पनि होइन । अहिले स्थापित बोल र लयमाथि भइरहेको तोडमरोड पनि दोहोरीमा देखिएका धेरै विकृतिमध्ये एउटा हो । मायाप्रीति र ठट्यौलीका प्रसङ्गलाई दोहोरीको प्राण मानिन्छ तर हाँसो मजाकका नाममा अलि बढी नै उदार हुन थालेको छ, नयाँ पुस्ता । संस्कृतिसँग जोडिएको कुरा अहिले अर्थोपार्जनसँग जोडिएर आएपछि लोकगीतमा विसङ्गति पस्न थालेको लोककलाकारको भनाइ छ ।