खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), चैत २५ गते । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो हिमालका रूपमा रहेको अपि हिमाल विदेशी पर्यटकको आकर्षण र गन्तव्यका रूपमा परिचित हुन थालेको छ ।
अपि हिमाल बेस क्याम्प घुम्न आउने र अपि नाम्पा संरक्षण क्षेत्रभित्रको प्राकृतिक आनन्द लिन आउने विदेशी पर्यटकको तथ्याङ्क हेर्दा यहाँका अपि हिमाल गाउँपालिका–१ मा पर्ने अपि हिमाल विश्वमा परिचित हुन थालेको हो । अपि हिमाल बेस क्याम्प र संरक्षण क्षेत्रभित्र घुम्न आउने पर्यटकलाई अनुमति दिँदै आएको सरकारी निकाय अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी अरुण चौधरीका अनुसार विगत १० वर्षमा १९४ जना विदेशी पर्यटक अपि हिमालको बेस क्याम्प घुम्न आएका छन् ।
अपि हिमालको प्रचारप्रसारलाई तीव्र बनाइ थप विदेशी पर्यटक भित्र्याउन गाउँपालिकाले आव २०८०/८१ मा अपि भ्रमण वर्ष २०८० सञ्चालन गरेको थियो । सो अवधिमा स्वदेशी तथा केही विदेशी पर्यटक अपि हिमाल बेस क्याम्प पुगेको गाउँपालिकाले जनाएको छ ।
अपि बेस क्याम्प घुम्न चालु आव २०८२/८३ को माघ महिनासम्ममा १३ जना पुरुष तथा छ जना विदेशी महिला पर्यटक आएको सूचना अधिकारी चौधरीले बताउनुभयो । यस्तै यो अवधीमा सार्क मुलुकका १५ जना पुरुष तथा दुई जना महिला, नेपालका ८८२ जना पुरुष र १२७ जना महिलाले अपि बेस क्याम्प भ्रमण गरेको तथ्याङ्क रहेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले पर्यटक भित्र्याउन अतिथि सत्कारका लागि ६१ जना महिला पाँच जना पुरुषलाई होमस्टे सञ्चालनको तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो । घुम्न आउने पर्यटकको सहजताका लागि ट्रेकिङ गाइडको समेत व्यवस्था रहेको उहाँले बताउनुभयो ।
अपि नाम्पा संरक्षण क्षेत्रमा हिउँचितुवा, रेड पान्डा, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरालगायत दुई सयभन्दा बढी प्रजातिका चरा पाइने गर्छन् । जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रभित्र सात हजार १३२ मिटर उचाइ रहेको अपि हिमाल र छ हजार ७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्छ ।
पर्यटक पदमार्ग निर्माण
सङ्घीय सरकारले अपि हिमाल बेस क्याम्पसम्म जान विभिन्न स्थानमा पर्यटकीय पदमार्ग निर्माण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमार्फत आव २०७९/८० देखि हालसम्म २१ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।
पर्यटकलाई बेस क्याम्पसम्म सहज यात्रा गराउन पदमार्ग निर्माण गरिएको पर्यटन विभागका सिनियर डिभिजन इन्जिनियर सचिन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
पदमार्गमा सिँढी, सोलिङ्ग, पिसिसी ढलान र रेलिङ निर्माण गरिएको बताइएको छ । गाउँपालिकाको धनबोरादेखी घुसा, खाइकोटदेखि थुम्ती र क्षेत्तीदेखि भीरफाटासम्म पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो ।
अपि हिमाल बेस क्याम्प घुम्न आउने र अपि नाम्पा संरक्षण क्षेत्रभित्रको प्राकृतिक आनन्द लिन आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको पाइएको छ ।