तम्घास समाचारदाता
तम्घास (गुल्मी), चैत २५ गते । कालीगण्डकी कोरिडोर अन्तर्गतका विभिन्न खोलामा पुल निर्माणका योजना अघि बढ्ने भएका छन् । आगामी आर्थिक वर्षदेखि कोरिडोरका विभिन्न स्थानमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउने योजना रहेको सम्बन्धित अधिकारीले जानकारी दिएका छन् ।
कालीगण्डकी कोरिडोर, गौँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र तेलीका अनुसार गुल्मी खण्डमा सात वटा पुल निर्माण गरिने छन् । उहाँले बडहरेखोला, दिहिङखोला, बौदीखोला, हास्मादी खोला, बाडेखोला, सिउरेनीखोला र पालुङखोलामा पुल निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो ।
त्यससँगै बागलुङ खण्डमा दुई र पाल्पा खण्डमा एक गरी कोरिडोर क्षेत्रमा कुल १० वटा पुल निर्माण गरिने भएको छ । त्यसै गरी कालीगण्डकी लोकमार्ग अन्तर्गत स्याङ्जा–पर्वत खण्डमा थप चार वटा पक्की पुल निर्माणको योजना रहेको छ । यसरी कार्यालयको कार्यक्षेत्रभित्र आगामी आर्थिक वर्षमा कुल १४ वटा पुल निर्माण अगाडि बढाउने लक्ष्य राखिएको छ ।
यी पुल निर्माणका लागि करिब ८५ करोड १८ लाख ५७ हजार १३६ रुपियाँ लागत अनुमान गरिएको छ । सूचना अधिकारी तेलीले पुलहरूको डिजाइन गर्ने काम सम्पन्न भइसकेको र बहुवर्षीय ठेक्कामार्फत निर्माण प्रक्रिया अघि बढाउन आवश्यक बजेट व्यवस्था गर्न विभागमा प्रस्ताव पठाइएको बताउनुभयो ।
दैनिक बुटवल–पूर्तिघाट सडकमा सवारी चलाउने चालक रामु पाण्डेले कोरिडोर क्षेत्रमा पुल अभावका कारण वर्षायाममा निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खोलामा पानी बढ्दा सवारीसाधन र यात्रुको ज्यान जोखिममा पारेर यात्रा गर्नु पर्छ ।”
कालीगण्डकी कोरिडोर अन्तर्गतको २४० किलोमिटर सडकमध्ये राम्दी–रानीमहल खण्डको १७ किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको छ । उक्त खण्डमा निर्माण जारी रहेको र आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ ।
त्यसै गरी कालीगण्डकी लोकमार्ग अन्तर्गत मिर्मी–सेतीबेनी–फलेबास–अर्मादी खण्डको ५३ किलोमिटर सडक निर्माणको कामसमेत तीव्र गतिमा अघि बढिरहेको जानकारी दिइएको छ ।